२४ बैशाख २०७५, सोमबार

सांसदहरुले सीमावर्ती क्षेत्रका समस्या समाधानका लागि भारतसँग स्पष्ट कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा सीमा क्षेत्रमा विद्यमान सबै खाले समस्या समाधानका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मीले गरिरहेको ज्यादतीको सन्दर्भ जोड्दै सांसदहरु हरिराम चौधरी, इन्दु कडरिया र अनिता देवकोटाले सीमा समस्या र भारतको निरन्तर ज्यादतीलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाउन सरकारलाई सुझाव दिएका हुन् ।

सांसद रामनारायण विहारीले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाउने सरकारको प्रयासलाई सकारात्मक भन्दा रामप्रित पासवान, खेमराज नेपाली र शिवबहादुर विश्वकर्माले लामो समयदेखि देशका विभिन्न स्थानमा जातीय छुवाछुत जारी रहेको भन्दै त्यस्तो कार्यमा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेका थिए ।

यस्तै, सांसद बृजेशचन्द्र लाल र कालीबहादुर मल्लले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, असिनापानी र आगलागीका कारण बालीनाली र धनजनको क्षति भएको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेका थिए । बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन–२०७५’ पेश गरिएको छ । प्रतिवेदनमाथि संशोधन प्रस्ताव दर्ता गराउन बुधबार १ बजे बजेसम्मको समय दिइएको छ ।

LIVE TV