२४ बैशाख २०७५, सोमबार

सरकारकोसँगको पाँच बुँदे सहमतिपछि यातायात व्यवसायीद्वारा आन्दोलनको सबै कार्यक्रम फिर्ता, यातायातमा सिण्डिकेटको अन्त्य, सरकारले सहमतिका केही बुँदा लुकाएको व्यवसायीको आरोप

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

सिण्डिकेट अन्त्यका लागि भन्दै सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेका यातायात सेवा समिति नविकरण नगर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनका अगुवालाई धरपकडसहित समितिको बैंक खाता रोक्का र पदाधिकारीको सम्पत्तिसमेत छानविन गर्ने सरकारको थप निर्णयपछि दवावमा परेका यातायात व्यवसायीले हिजो सरकारसँग भएको पाँच बुँदे सहमतिअनुसार आज आन्दोलनका कार्यक्रम फिर्ता लिइएको घोषणा गरेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा सरकार र व्यवसायीबीच सिण्डिकेट अन्त्य गर्ने, दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने, यातायात क्षेत्रको सुधारका लागि कार्यदल बनाउने र आन्दोलन फिर्ता लिने सहमति भएको जानकारी दिइएको हो ।

व्यवसायीले भने सहमतिका केही बुँदा सरकारले लुकाएको दावी गरेका छन् । यातायात समितिको बैंक खाता रोक्का गर्ने सरकारको निर्णय पनि फिर्ता गर्ने सहमति भएको उनीहरुको दावी छ । तर, मन्त्री महासेठले भने बैंक खाता रोक्काको विषय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै पन्छिँदा व्यवसायीले तत्काल खाता फुकुवा गर्न आग्रह गरेका थिए ।

सरकारको आग्रहमा नेपाल राष्ट्र बैंकले हिजो मात्र २४५ यातायात व्यवसायीको बैंक खाता रोक्का गरेको थियो । व्यवसायीले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा रहेको सिण्डिकेट पनि हटाउन सरकारलाई निरन्तर दवाव दिइने जनाएका छन् ।

LIVE TV