२४ बैशाख २०७५, सोमबार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अबकाे अाफ्नाे कदम ‘मदिरामुक्त नेपाल’ बनाउनेमा केन्द्रित हुने बताएका छन् । भ्रष्टाचारको मूल कारकसमेत रहेकाे मदिरा उन्नत एवं समृद्ध समाजको बाधक हाे भन्दै गृहमन्त्री बादलले यसलाई व्यवस्थित गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आइतबार गृह मन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुको एक समूहले मदिरा नियन्त्रण हुनुपर्ने माग गरेका थिए । महिला टोलीलाई आश्वस्त पार्दै गृहमन्त्री थापाले सिंगै देशलाई मदिरामुक्त बनाउन पहल गर्ने बताएका हुन् । मदिरा नियन्त्रणसँगै लागुऔषध नियन्त्रणलाई पनि अभियानको रुपमा लैजाने तयारी मन्त्रालयले गरिरहेको उनको भनाइ थियाे ।

यातायात क्षेत्रका सिण्डिकेटधारीहरु र एयरपोर्टका सुन तस्करलार्इ तह लगाउन सफल भएपछि गृहमन्त्री बादसँग जनताले थप अाशा गरेका छन् । यसै क्रममा उनले अब रक्सी नियन्त्रणमा केन्द्रित हुने बताएका हुन् । देशभरीका कतिपय गाउँलाई मदिरामुक्त घोषणा गरिए पनि मदिरापान बढिरहेको र यसबाट महिला हिंसाका घटना बढेको भन्दै महिला नेतृहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराए । साथै मदिराकै कारण परिवार विखण्डनमा गएकाे र समाजमा विकृति तथा अापराधिक गतिविधि बढेकाे उनीहरूकाे भनाइ थियाे ।

अखिल नेपाल महिला संघका पदाधिकारीहरु र केही सांसदहरू संलग्न रहेकाे उक्त टोलीले गृहमन्त्रीलाई भेटेर सिण्डिकेट तोडेजस्तै जँड्याहाहरुलाई पनि ठेगान लगाउनुपर्ने माग गरेकाे थियाे । यसक्रममा मन्त्री थापाले सिंगै नेपाललाई मदिरा मुक्त घोषणा गर्नु राम्रो हुने भन्दै तत्कालका लागि त्यसो गर्न नसकिए पनि सरकारले मदिरा नियन्त्रणमा जोड दिने बताए । गृहमन्त्री बादलले अबका ६ महिनामा मदिरामुक्त नेपाल बनाइछाड्ने अास्वासन दिएका छन् ।

गृह मन्त्रालयले यस कार्यका लागि विस्तृत खाका बनाइरहेको जानकारी दिँदै उनले ६ महिने अभियान तत्कालबाटै सञ्चालन गर्ने बताएका हुन् । मदिरा नियन्त्रणको जागरण अभियान र जँड्याहाहरुको भण्डाफोर कार्यक्रम आयोजना गरिने, अनुमतिबिना र मापदण्डविपरीत सञ्चालनमा अाएका मदिरा पसललाई सिज गर्न सुरक्षाकर्मी तत्काल परिचालन गरिने समेत बताएका छन् ।

याे पनि पढ्नुहाेस् :

गृहमन्त्री बादलका महान् कामहरू : जुन कामले सधैँ लोकप्रिय बनिराख्ने छन्

LIVE TV