२३ बैशाख २०७५, आईतवार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य विश्व साहित्यभन्दा धेरै अगाडि भएको बताउनुुभएको छ । महाभारत र गीताको प्रसंग जाेड्दै गर्दै उहाँले पाँचहजार वर्षअगाडि यो साहित्य बन्दा बिश्व साहित्य कहाँ थियो भनी प्रश्न समेत गर्नुभयाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा अयोजित ‘संसददेखि संविधानसभासम्म’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली साहित्यको भण्डार गर्विलोरुपमा भरिँदै गएको चर्चा पनि गर्नुभयो ।

पुस्तकका लेखक पुर्व-उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आफ्नो पुस्तकले ईतिहासको एक कालखण्डको प्रत्यक्ष उजागार गरेको बताउनुभयो । संसदमा के हुन्छ ? संविधानसभा बन्दादेखि संविधान बन्दासम्मको अवस्था के थियो ? यी तथ्यबारे आफूले जानेको, बुझेको, भोगेको कुरा ईमान्दार भएर पुस्तकका रूपमा तयार पारेकाे अधिकारीले बताउनु भयो ।

कार्यक्रममा पुस्तकका प्रकाशक एवं घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले नेपालमा आफूहरुले हरेक व्यक्तिलाई पुस्तक देख्ने गरेको र लेखनमा सहयोग पुर्याइरहेको बताउनुभयो । घाेष्ट राइटिङ नेपालद्वारा अध्यात्म, बिज्ञान, कला, शिक्षा, साहित्य, संस्कृति र राजनीतिलगायतका बिषयमा नेपाली समाजका दुई सयभन्दा बढी पुस्तक लेखिरहेको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भरत मोहन अधिकारीको प्रस्तुत पुस्तकले नेपाली साहित्य मात्र नभई नेपाली राजनीति पनि धनी भएको बताउनुभयो ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि एवं पूर्वप्रधानमन्त्री माधव नेपालले भरतमोहन नेपाली वामपन्थी आन्दोलनका एक ऐतिहासिक दस्तावेज भएको र उहाँले लेखको पुस्तक नेपाली राजनीतिक ईतिहासका लागि कोशेढुंगा हुने बताउनु भयो ।

त्यस्तै अर्का बिशिष्ट अतिथि एवं मन्त्री परिषदका पुर्वअध्यक्ष खिलराज रेग्मीले लेखक र प्रकाशक दुबैलाई बधाई दिँदै नेपाली समाजमा यस्तो पुस्तकको धेरै खाँचो रहेको र अझै लेखिनुपर्ने बताउनुभयो ।

LIVE TV