२३ बैशाख २०७५, आईतवार

सन् २०१५ को प्यारिस हमलाबारे अमेरिकी राषट्रपति डाेनाल्ड ट्रम्पले दिएकाे अभिव्यक्तिप्रति फ्रान्सले अापत्ति जनाएकाे छ ।ट्रम्पले फ्रान्सेली नागरिकहरूलाई बन्दुक राख्न दिएको भए उक्त हमलालाई रोक्न सकिन्थ्यो भन्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पकाे उक्त भनाइप्रति फ्रान्सले विरोध जनाएको हाे।

फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दाबीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न भनेको छ। शुक्रबार टेक्ससमा न्याशनल राइफल एशोसियसनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले भनेका थिए, ‘यदि प्यारिसको सांगीतिक कार्यक्रम हलमा काम गर्ने एक जनासँग पनि त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू या त भाग्थे या त मारिने थिए।’ प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए ।

प्रहसन नै गलत 

सम्बोधनका क्रममा ट्रम्पले प्यारिस हमलामा बन्दुकधारीहरूले एक-एक जना पीडितलाई बोलाउँदै गोली हानेको र गोली चलेको आवाज निकाल्दै प्रहसन गरेका थिए। जबकि वास्तविकतामा प्यारिस हमलाकारीले पीडित १३० जनामाथि अन्धाधुन्ध गोली चलाएका थिए र बम भएका ‘बेल्ट’हरू विस्फोट गराएका थिए।

पूर्वराष्ट्रपतिले भने– लज्जाजनक

प्यारिस हमला गरिएको बेलाका राष्ट्रपति फ्रास्वां ओलान्दले ट्रम्पको भनाइलाई ‘लज्जाजनक’ भनेका छन्। ओलान्दले भनेका छन्, ‘ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा बताएको छ।’

तत्कालीन फ्रान्सेली प्रधानमन्त्री मानुएल भासले ट्रम्पकाे भनाइकाे  विराेध गर्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अभद्र र अक्षम । योभन्दा बढी म के भन्न सक्छु र ?’

 

 

बहालवाला राष्टपति माैन

हालै अमेरिका भ्रमणका क्रममा ट्रम्पसँग सौहार्दपूर्ण वार्ता गरेका राष्ट्रपति एमानुएल माक्रोँले चाहिँ ट्रम्पको भनाइप्रति कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।

सन् २०१५ को नोभेम्बर १३ मा गराइएको हमलाको जिम्मेवारी तथाकथित इस्लामिक स्टेट समूहले लिएको थियो।

नेशनल राइफल एशोसियसनलाई नै गरेको सम्बोधनमा ट्रम्पले लण्डनमा हुने गरेका चक्कु प्रहारका घटनाको आलोचना गर्दै सो शहरका अस्पतालहरूलाई ‘युद्धक्षेत्र’सँग तुलना गरे। (बिबिसी)

LIVE TV