
- दान बहादुर बुढा
२२ वैशाख मुगु । गएको विहिबार आगलागिबाट १७ घर जलेर नष्ट भए पछि घरवास विहिन भएका आगलागि पिडीतका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन ।
जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ किम्री गाउँमा बिहिवार विहान ९ बजे लागेको आगोका कारण १७ घर जलेर नष्ट भएका थिए । अन्नपात, भाँडा वर्तन लगायत सबै खरानी भए पछि छिमेकीका घरमा आश्रय लिएर बसि रहेका अग्नि पिडीत तिन पछि राहत पाएका हुन ।
चिउरा, चिनी , चाउचाउ, तेल, पाल, जकेट , कम्बल सिलिपिङ्ग ब्याग , दाल लगायतका राहत सामग्री नेपाली सेनाको हेलिकप्टर मार्फत मुख्य मन्त्री शाही , मुगुबाट प्रतिनीधी सभाका सदस्य गोपाल बम, प्रदेश सभा सदस्य दानसिंह परियार तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किम्री पुगेका हुन ।
जिल्लाबाट पनि तत्कालका लागि १३ क्वीण्टल चामल, तेल , भाँडा वर्तन , चाउचाउ , औषधी , कम्बल लगायतका सामाग्री पठाईएको छ । उद्योग बाणिज्य संघ मुगुले संकलन गरेको ८७ हजार ३ सय ५५ र हाल स्पेनमा रहेका छायानाथ रारा नगरपालिका १३ थार्प गाउँँका अक्कल बोहोराले पठाएको २० रकम पनि अग्नि पिडीत परिवारलाई पठाईएको छ भने जिल्ला प्रशासन कार्यालयले तत्काल प्रति परिवार दश दश हजार प्रदान गरेको छ ।
मुगुम कार्मारोङ्ग गाउँ पालिकाले तिन महिनासम्मका लागि खाद्यन्न व्यवस्था गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर शाहीले बताए ।हेलिकप्टर व्यवस्था गर्न नै समय लागेकाले राहत सामाग्री आउन ढिलाई भएको र तत्काल खान बस्नको व्यवस्था मिलाईए पनि पिडीतको पुर्नस्थापनाका लागि घर बनाउन्जेलसम्म सरकार लागि पर्ने मुख्य मन्त्री शाहीले बताए ।
अहिले पिडितका लागि केही राहत व्यवस्था गरिए पनि उनिहरुको पुर्नस्थापना तथा घर निर्माणका लागि अनुदान सहुलियत दलर ऋणको व्यवस्था गर्न सरकारलाई घच्घच्याउने प्रतिनीधी सभा सदस्य गोपाल बमले बताए । आगलागिबाट चार करोड बढि क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । अहिले अग्नि पिडीतहरुमा वेहोस हुने , बरबराउने, रुने जस्ता समस्या देखा परिरहेको बताईएको छ ।
पिडीतमा पर्न सक्ने स्वास्थ्य समस्यालाई मध्य नजर गर्दै औषधी सहित स्वास्थ्यकर्मिको टोली घटना स्थल तर्फ पठाई सकिएको र थप औषधी शनिवार हेलिकप्टरबाट पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तस्वीर :दान बहादुर बुढा