२२ बैशाख २०७५, शनिबार

प्रतिनिधिसभाको दोस्रो अधिवेशन भोलिबाट सुरु हुने भएपनि नियमावली विवाद अझै कायमै, प्रतिनिधिसभा र राष्ट्रियसभाको विवादित विषय गोलाप्रथाबाट टुंग्याइने

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशन भोलिबाट सुरु हुने भएपनि संसद सञ्चालनको विधि र प्रक्रियामा दलीय सहमति जुटेको छैन । सत्तापक्ष र विपक्षको मतान्तर बढ्दै जाँदा शीर्ष तहमा भएको छलफल पनि निश्कर्षविहीन बनेपछि नियमावली मस्यौदा समिति प्रक्रियामा गएर विवाद टुंग्याउने तयारीमा छ ।

नियमावली मस्यौदा समितिका अनुसार बजेट अधिवेशनको पहिलो बैठकमै संसद सञ्चालन नियमावलीको मस्यौदा पेश गर्नुपर्ने छ । तर, समितिले मस्यौदालाई अन्तिम रुप दिन सकेको छैन ।

फौजदारी अभियोगमा सांसद पक्राउ परे निलम्बित गर्ने कि नगर्ने र संसदीय समितिको संख्यामा सत्तापक्ष र विपक्षीको मत बाझिँदा लामो समयसम्म नियमावलीको मस्यौदा टुंगिन नसकेको हो ।

सत्तापक्ष र प्रतिपक्षको आ–आफनै अडानका कारण नियमावली विवादलाई गोला प्रथाको माध्यमबाट टुंग्याउने अन्तिम तयारी अघि बढाइएको छ ।

उता, राष्ट्रिय सभा सदस्यको कार्यकाल क्लस्टरअनुसार को गोलाबाट बाँडफाँट गर्ने समितिले सहमति जुटाएको छ । प्रत्येक प्रदेशमा महिला समूहबाट प्रतिनिधित्व गर्ने तीन जनाको गोलाप्रथाबाट समयावधि छानिने जनाइएको छ ।

प्रत्येक प्रदेशका खुला समूहका लागि बेग्लाबेग्लै मतदान गर्ने तयारी अगाडि सारिएको छ ।

LIVE TV