२१ बैशाख २०७५, शुक्रबार

काठमाडौंका सडकहरुको हाल बेहाल बन्दा सर्वसाधारण धुलो र हिलोसंग सम्झौता गर्न बाध्य, चावहिल साँखु सडकमा करोडौ बगेपनि सडकको हालत ज्यूँका त्यूँ

काठमाडौं । काठमाडौंका सडकहरु यतिखेर जनतालाई सास्ती दिने माध्यम बनेका छन् । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको कारण सडक हाल वेहाल बन्दा सर्वसाधारणले धुलो र हिलोसंग सम्झौता गर्न बाध्य बन्नु परेको छ । जस्ले गर्दा सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर असरहरु पर्न थालेका छन् ।

झट्ट हेर्दा धान रोप्नको लागि ठीक्क पारिएको खेत जस्तो देखिने यो दृश्य हो राजधानीका अति व्यस्त सडकहरु मध्यको एक वौद्ध जोरपाटी खण्ड । दैनिक हजारौको संख्यामा सवारी साधन गुडुने यो सडक निर्माण थालेको तीन वर्ष भन्दा वढी समय वितिसकेको छ । यहि विचमा देशमा तीन तहको निर्वाचन भयो । यहि सडक पनि दल र नेताहरुको निर्वाचनको नारा समेत बन्यो । धेरै प्रतिनिधिहरु यही क्षेत्रबाट निर्वाचित भए तर यो सडकको अवस्था भने कहिल्यै फेरिएन ।

चावहिल साँखु सडक विस्तार योजना सम्पन्न गर्न एक अर्ब ४५ करोडको रकम विनियोजन गरिएको छ । तर हाल सम्म कत्ति रकम खर्च भयो भनेर जानकारी माग्दा समेत निर्माण जिम्मा पाएको ठेकेदार शकुन्तलाल हिराचनले यकिन तथ्याङक स्थानीय तहलाई बुझाउन नचाहेको काठमाडौं महानगरपालिका वडा नं ६ का वडाध्यक्ष दीपेन्द्र लामाको भनाई छ ।

केन्द्र सरकारले चावहिल साँखुको सडक विस्तार कार्य पुर्नमुल्याङकन गरी अघि बढाउने बताइरहदा स्थानीय सरकार भने केन्द्रले दिएको अधिकार कागजमा मात्रै सीमित भएको गुनासो गर्न थालेको छ । चावहिल देखि साँखुसम्म २३ किलोमिटर सडक विस्तार गर्ने योजनाको समयसीमा गत माघमा नै सकिएको छ ।

तर सडकको अवस्था भने ज्युँका त्यूँ छ । विकास भनेकै सडक हो भन्ने सामान्य मानिसको बुझाईलाई समेत सरकारले पूर्ति गर्न सकिरहेको छैन । मोनोरेल कुँदाउने सपना बाँडनेहरुले सफा सडकमा सवारी चलाएर देखाइदिए मात्र जनतामा विश्वासको विजारोपण हुने थियो कि ।

LIVE TV