२१ बैशाख २०७५, शुक्रबार

फोर्डको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले उपभोक्तासँग चर्को रकम असुलेर गाडी विक्री गर्ने गरेको अर्को रहस्य खुल्यो, नयाँ आएका गाडीमापनि ठगी सुरु

काठमाडौं । फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले उपभोक्तासँग चर्को रकम असुलेर गाडी विक्री गर्ने गरेको अर्को रहस्य न्यूज २४ टेलिभिजनले फेला पारेको छ । नयाँ आएका गाडीमा ठगी हुने गरेको रहस्य खुलेको हो ।

अहिले जीओ अटोमोबाइल्सले बजारमा ल्याएका फोर्डका नयाँ व्राण्डको गाडी हो यो । फोर्डको फ्रि इस्टाइल टिटानियम गाडीमा उसले ठगी गरेको नयाँ रहस्य फेला परेको हो । ४ लाख १७ हजार ८ सय ७२ भारतीय रुपैयाँ पर्ने यो गाडी अहिले उसले ३२ लाख ४९ हजारमा नेपालमा विक्री गर्दै आइरहेको तथ्य खुलेको हो ।

भारतस्थित फोर्डसँग ४ लाख १७ हजार ८ सय ७२ भारतीय रुपैयाँमा किनेको गाडीको नेपाली रुपैैयाँ करिव ६ लाख ६८ हजार हुन जान्छ । हामीले प्राप्त गरेको फोर्डको यो विल हेर्नुहोस् । जहाँ २ ओटा गाडीको हिसाव देखाइएको छ । यसको भारतीय रुपैयाँ ८ लाख ७० हजार ९ सय ५० रुपैयाँ देखिन्छ । उसले आइडी,इसीएस र भ्याट वापत दुई ओटा गाडीको जम्मा ३० लाख ८३ हजार ९ सय ७७ रुपैयाँ तिरेको यो विलबाट स्पष्ट हुन्छ । यसहिसावले हेर्ने हो भने यो दुई गाडीको मूल्य जम्मा ४४ लाख ७७ हजार ४ सय ९७ हुन जान्छ । तर जीओ अटोमोबाइल्सले दुई गाडीको मूल्य ६४ लाख ९८ हजारमा विक्री गर्दछ ।

प्रति गाडी २२ लाख ३८ हजार ७ सय ४८ रुपैयाँ वीरगन्ज भन्सारसम्म आइपुग्दा हुने उसले १० लाख भन्दा बढी नाफा खाएर विक्री गरेको देखिएको छ । दुवानी,उत्पादक करदेखि लाग्ने अन्य विभिन्न कर र मूल्य अभिवृद्धि कर सहित सबै जोडेर उसले २९ प्रतिशत भन्दा बढी रकम नाफा खाँदा पनि नियमनकारी निकाय भने मौन बसेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यसअघि गरेको अनुगमनपछि जीओ अटोमोबाइल्स कम्पनीलाई कारबाहीका लागि सिफारिस गरेको थियो । तर मन्त्रालयले व्यवसायीलाई कारबाहीको सट्टा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएपछि गाडी ब्यवसायीहरु पुनः उपभोक्ता ठग्ने पुरानो धन्दालाई निरन्तरता दिइरहेका छन् ।

जीओ अटोमोबाइल्स कम्पनीले प्रशासनिक खर्च शीर्षकबाट कर्मचारीको तलब, उनीहरूको भत्ता र सुविधा, कार्यालय सञ्चालन खर्च, शोरुम शुल्क, गोदाम भाडा, विज्ञापन खर्च तथा बिक्री प्रवद्र्धन मार्फतको शुल्क जोडेर पनि २९ प्रतिशत नाफा खाँदा समेत नियमनकारी निकाय मौन रहनु रहस्यमय मानिएको छ ।

कम्पनीका प्रबन्धक तेजकरण जैनले पटक पटक विभागमा स्पष्टीकरण बुझाए पनि मूल्यवृद्धिको कारण भने पुष्टि भएको थिएन भने अहिले आएको नयाँ ब्राण्डको फ्रि इस्टाइल टिटानियम गाडीमा समेत उसले लुटको धन्दा मच्चाइरहेको रहस्य सहतमा आएको छ ।

 

LIVE TV