२१ बैशाख २०७५, शुक्रबार

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुत्केरी गराउन क्षेत्रीय अस्पताल सुर्खेत पुगेकी मनिषा सिंहको निधनका विषयमा आवश्यक छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

अस्पतालको लापरबाहीका कारण निधन भएको बताउँदै आन्दोलित आफन्तलाई भेट्न आज अस्पताल पुग्नुभएका मुख्यमन्त्री शाहीले छानबिनका लागि निर्देशन दिनुभएको हो । प्रसूति व्यथा लागेर हिजो क्षेत्रीय अस्पत्ताल पुग्नुभएकी सिंहको आज बिहान निधन भएको थियो । कालीकोट घर भएकी सिंहको निधन लगत्तै अस्पताल पुगेका आफन्तहरुले बिहान ११ बजे भर्ना गरिएकामा राति १२ बजे मात्र डाक्टरले चेकजाँच गरेको भन्दै अस्पतालको लापरबाहीको कारण मुत्यु भएको दाबी गरेका छन् ।

बिहान १० बजे क्षेत्रीय अस्पत्ताल पुग्नुभएका मुख्यमन्त्री शाहीले सिंहको निधनका बारेमा अस्पताल प्रमुख डम्बर खड्कासँग जानकारी लिनुका साथै मृतकका आफन्तजनसँग भेट गर्नुभएको थियो । स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएको बताउँदै मुख्यमन्त्री शाहीले सुत्केरी हुन अस्पताल पुगेकी महिलाको मृत्यु हुनु दुःखद भएको बताउनुभयो ।

स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको लापरबाही देखिए कारबाही हुने बताउँदै मुख्यमन्त्री शाहीले मृतकका आफन्त तथा परिवारलाई संयमित हुन आग्रह गर्नुभयो ।

LIVE TV