२१ बैशाख २०७५, शुक्रबार

काठमाडौं : पार्टी एकतामा देखिएका गतिरोध अन्त्य गर्दै एमाले–माओवादी पार्टी एकताको अन्तिम चरणमा पुगेका छन्। एमाले–माओवादी शीर्ष नेतृत्वबीच एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, चुनाव चिह्न, माओवादी जनयुद्धको स्वीकारोक्तिलगायत विषयमा सहमति जुट्न नसक्दा एकता अन्यौलमा पुगेको थियो।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान र मध्याह्न दुईपटकसम्म भएको छलफल सहमतिउन्मुख भएका कारण एकता प्रक्रिया निष्कर्षतिर पुग्न थालेको नेताहरूले बताएका छन्।

यी दुई नेता ४ वैशाखयता एक्लाएक्लै वार्तामा बस्दै आइरहेका छन्। बिहीबार पनि पार्टी एकतालाई ‘वारपार’ लगाउने उद्देश्यले सघन वार्तामा बसेका थिए।

बिहीबारको छलफलमा संगठनात्मक हिस्सेदारी कसरी मिलाउने र कार्यदल प्रतिवेदनका आधारमा एकीकृत पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्नेमै छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

LIVE TV