२० बैशाख २०७५, बिहीबार

एकताबारे निष्कर्षमा पुग्न एमाले–माओवादी केन्द्रका शीर्षबीच आज छलफल हुँदै, एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको माओवादी अध्यक्ष दाहालको भनाई

काठमाडौं । पार्टी एकतालाई निष्कर्षमा पु¥याउन एमाले र माओवादी केन्द्रले छलफललाई तीव्रता दिएका छन् । दुबै दलको शीर्ष तहमा आज छलफल हुने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा हुने भनिएको छलफल एकतामा देखिएको समस्या हटाउनमा केन्द्रित रहने नेताहरुले बताएका छन् । पार्टी एकतापछि दुबै दलको समान सहभागीता लगायतका विषयमा सहमति जुटाउने प्रयास हुने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दुई नेताको बैठकले निकाल्ने निष्कर्षका आधारमा एकताबारे टुंगो लाग्नेछ । हिजो बसेको माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको जानकारी दिनुभएको थियो ।

एमाले र माओवादीबीच वैशाख ९ मा एकता गर्ने भनिए पनि हिस्सेदारी विवादले रोकिएको थियो । आजको बैठक निष्कर्षतर्फ उन्मुख भए शनिबार माक्र्स जयन्तीका अवसरमा एकताको समयसीमा घोषणा हुने सम्भावना रहेको बताइएको छ । एमालेसँग माओवादीले समान हिस्सेदारी मागेको छ ।

त्यसका लागि संगठनमा ५० प्रतिशत पाउनुपर्ने दाबी गरेको थियो तर विगतको सहमतिअनुसार र संगठनको आकारका आधारमा पनि ५० प्रतिशत दिन नमिल्ने अडान एमालेले लिँदै आएको छ । त्यस्तै एकतापछिको नेतृत्वलगायत विषय पनि मिलेको छैन ।

LIVE TV