२० बैशाख २०७५, बिहीबार

भारतीय प्रधानमन्त्री मोदीको आसन्न भ्रमणका लागि भारतीय सुरक्षा अधिकारी एवं कुटनीतिक अधिकारीहरु जनकपुरमा सक्रिय, नेपाल प्रहरीद्वारा शंकास्पद एक व्यक्ति पक्राउ

  • राजकमल सिंह,

धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमण नजिकिँदै गर्दा भारतीय उच्च सुरक्षा अधिकारी तथा कुटनीतिक अधिकारीहरु जनकपुरमा सक्रिय भएका छन् । उनीहरु मोदीको स्वागत तथा सुरक्षा अवस्था प्रति केन्द्रित छन् ।

मोदीको सुरक्षा सर्तकतालाई मध्य नजगर गर्दै भारतीय उच्च सुरक्षा अधिकारी सक्रिय भएको अवस्थामा नेपाल प्रहरीले गुप्तचरको आशंकामा एक जनालाई पक्राउ गरेको छ । गृह मन्त्री रामबहादुर थापा मोदीको स्वागत तथा सुरक्षा तयारी कडा पर्न स्थलगत अवलोकनको लागि जनकपुर आएका समयमा निकै सक्रिय देखिएका जीवन साहलाई जनकपुरको किशोरी नगरबाट नेपाल प्रहरीले आशंकाको आधारमा नियन्त्रणमा राखेका छन् ।

गृह मन्त्री थापाको अनुगमनको क्रममा साह सम्पूर्ण कार्यक्रममा सहभागी भएका थिए । प्रहरी नियन्त्रणमा रहेको साहसंग दुई वटा पासपोर्ट, मोबाईल, विभिन्न कागजातहरु फेला परेको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले साहको विवरण गोप्य राखेर अनुसन्धान गरिरहेको बताईएको छ । यसैबीच नयाँ दिल्लीबाट आएको भारतीय प्रधानमन्त्री कार्यालयका स्पेसल प्रोटेक्सन गु्रपका आईजीपी, विदेश मन्त्रालयका अधिकारी, भारतीय वायुसेनाका अभिनिल राय र राजदूत मञ्जीभ सिंह पुरी लगायतको टोलीले जनकपुर आएर सुरक्षा व्यवस्था र तयारीबारे जानकारी लिएका छन् ।

तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिन टोली जेडपी ५११९ कलसाइन भएको भारतीय वायुसेनाको हेलिकप्टरबाट काठमाडौं आएका उनीहरूसंग परराष्ट्र मन्त्रालय र नेपाली सेनाको हेलिकप्टर हेर्ने प्राविधिक पनि जनकपुर आएका थिए । भारतीय प्रधानमन्त्री मोदी पटनाबाट वैशाख २८ गते बिहान ९ बजे भारतीय वायुसेनाको हेलिकप्टर चढेर सिधै जनकपुर आउने कार्यक्रम छ ।

LIVE TV