२० बैशाख २०७५, बिहीबार

पाेखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे अासन्न नेपाल भ्रमणका लागि सुरक्षा अवस्था बुझ्न भन्दै भारतीय वायु सेनाकाे हेलिकप्टर नेपाली अाकाशमा खुलेअाम घुमिरहेकाे छ । बुधबार मात्रै जनकपुर हुँदै पाेखरा अाइपुगेकाे हेलिकप्टरमा भारतीय सुरक्षाकर्मी परिचालित थिए ।

मोदीको मुक्तिनाथसम्मकाे धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तीव्र बनाइएकाे छ । बुधबार जेडपी ५११९ कलसाइनको भारतीय वायुसेनाको हेलिकोप्टर बुधबार पोखरा पुगेर फर्किएकाे छ ।

भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा अवस्थाको बारेमा जानकारी लिएर फर्किएको हाे। मोदी भ्रमणका लागि भारतीय वायुसेनाको हेलिकोप्टरमा भारतीय सुरक्षाकर्मी परिचालन गरिएका छन् । सो हेलिकोप्टरमा सवार भारतीय सुरक्षाकर्मीले पाेखरा विमानस्थलको सुरक्षाबारे जानकारी लिएका छन्।

यसैबीच, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तीव्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए। उनले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिए। सीमानाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सतर्कताका साथ चेकजाँच तथा गस्ती गरिएको छ।

वैशाख २८ गते मोदी धार्मिक भ्रमणका लागि जनकपुरदेखि हेलिकोप्टरमार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ। मुक्तिनाथ मन्दिरदेखि केही तल दुई वटा हेलिप्याड रहेका छन्। थप एक हेलिप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताए।साथै आकस्मिक उपचारको समेत व्यवस्था गरिएको छ।

मुक्तिनाथ समुद्री सतहदेखि तीन हजार ८०० सय मिटरको उचाइमा अवस्थित छ। भ्रमणलाई लक्षित गरेर बेनी—जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ। ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडक स्तरोन्नतिका लागि दैनिक आठघण्टा बन्द गरिँदै आएको छ।

LIVE TV