२० बैशाख २०७५, बिहीबार

एजेन्सी :

अाफ्नाे देशमा स्वेच्छिक मृत्युकाे अवसर नपाएकाे भन्दै एक वैज्ञानिकले देश छाेडेका छन् । १०४ वर्षीय ती वैज्ञानिक हुन्, डेविड गुडअल । बोटनी र इकोलोजीका वैज्ञानिक उनी आफ्नो जीवनकाे सम्मानजनक मृत्युकाे चाहना राख्दै घर र देश छाड्न चाहेको बताएका हुन्।

बेलायतमा जन्मिएर अस्ट्रेलियामा बस्दै आएका शताब्दी काटेका उनलाई कुनै ठूलो स्वास्थ्य समस्या छैन। यो उमेरसम्म बाँच्दा आफ्नो स्वतन्त्रता खोसिएको उनको भनाइ छ। केहीअघि आफ्नो जन्मदिनका अवसरमा उनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भनेका थिए, ‘मलाई यो उमेरसम्म आइपुगेकोमा पछुतो छ, म खुशी छैन, म मर्न चाहन्छु। यो दुख मान्नुपर्ने कुरा त होइन तर यसलाई नकार्न पनि त सकिन्न किनकी म अब स्वतन्त्र रहन सक्दिन ।’

लामो विवादपछि गएको वर्ष अष्ट्रेलियाको एउटा मात्र राज्यमा इच्छा मृत्यु (असिस्टेड डाइङ)को अनुमति दिने प्रावधानलाई मान्यता दिइएको थियो । तर त्यसको लागि पनि गम्भिर विरामी हुनु आवश्यक पर्छ ।

तर उनमा कुनै गम्भीर रोग नभएका कारण त्यहाँ उनले स्वेच्छिक मृत्यु मर्न पाउदैनन् । गुडअलका अनुसार उनी स्वेच्छिक मृत्युका लागि स्वीट्जरल्याण्डको एक क्लिनिकमा जाँदैछन् । तर मृत्यु रोज्नकै लागि कानूनी अड्चनका कारण आफ्नो देश छाड्नुपर्दा भने आफूलाई दुःख लागेको उनको भनाइ छ।

उनी केही साता अघिमात्र पश्चिम अस्ट्रेलियाको पर्थस्थित आफ्नो एउटा सानो फ्ल्याटमा एक्लै बस्दै आएका थिए। घरमै लडेर केही दिन अशक्त भएपछि चिकित्सकले उनलाई हेरचाहको खाँचो रहेको भन्दै अस्पतालमै बस्न सुझाव दिएका थिए। कुनै अपरिचित व्यक्तिको हेरचाहमा बस्नुभन्दा स्वेच्छिक मृत्युु सम्मानजक हुने भन्दै उनले त्यसयता देहत्यागका लागि योजना बनाएको बताइन्छ।

एकान्तप्रेमी उनी धेरै मानिससँग घुलमिल गर्न चाँहदैनन्। स्वीटजरल्याण्ड जानुअघि उनी फ्रान्समा आफ्ना परिवारसँग भेट गर्दैछन्।

LIVE TV