२० बैशाख २०७५, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । एकतासँग जोडिएका विषय करिब–करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने एक नेताले बताए ।

गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसकेका छन् । २० वैशाखमा निर्णायक छलफल गर्ने समझदारीपछि दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त बनेका थिए । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गरेका छन् ।

दुई दलबीच एकीकृत पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताएका छन् । स्रोतका अनुसार दुई दलबीच ६०÷४० को अनुपातमा संख्यात्मक हिस्सेदारी मिलाउने गरी एकता टुंगो लगाउने तयारी छ ।

एमालेले आन्तरिक छलफल गर्दै
माओवादी केन्द्रसँगको एकताका विषयमा एमालेले बिहीबार आन्तरिक छलफल गर्ने भएको छ । बुधबार साँझ डाकिएको स्थायी समितिको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताले स्थगित भएपछि एमालेले बिहीबार छलफल गर्न लागेको हो ।

‘प्रधानमन्त्रीज्यू व्यस्तताका कारण गृहजिल्ला झापाबाट ढिलो आउनुभएको र थकाइमा रहनुभएका कारण बिहीबार बस्ने गरी बैठक स्थगित भएको छ’, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षज्यूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलअघि या पछि स्थायी समिति बैठक बस्नेछ ।’

माओवादी केन्द्रले बुधबार केन्द्रीय सचिवालय बैठकमा एकताबारे छलफल गरेकाले एमाले नेताहरूले पार्टी स्थायी समितिमा सोही एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताएका थिए । बैठकको एजेन्डा तयारीका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेर केन्द्रीय सचिवालय बैठकसमेत बसेको थियो । तर, प्रधानमन्त्री ओली व्यस्त बनेपछि बैठक स्थगित भएको थिया । तरपनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् ।

LIVE TV