
मोरङ । साढे ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गराइएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले सञ्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् ।
लोहनीले मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा अभियुक्तहरुको तस्वीर लिन खोज्दा सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज चुडामणि उप्रेती ‘गोरे’लाई मुख्य अभियुक्त बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको हो ।
अभियोग–पत्रमा आपराधिक समूह स्थापना र सञ्चालन गरी ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम सुन अवैध चोरी, निकासी र पैठारी गरिएको दावी छ । उनीहरु विरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गराइएको हो । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसाको बिगो दावी गरिएको छ ।
पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्कासहित सुन व्यापारी र विमान कम्पनीका कर्मचारीलाई प्रतिवादी बनाइएको छ । सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २९ जनलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । प्रहरीले हालसम्म पक्राउ परेका २९ जनासहित अनुसन्धानका क्रममा बरामद सामाग्री र दुई वटा गाडीसमेत अदालतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान मिसिल बुझाएको थियो । घटनाका मुख्य अभियुक्त ‘गोरे’, एसएसपी श्याम खत्रीलगायत फरार छन् । फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन तस्करीको घटना बाहिरिएको थियो । त्रिभूवन विमानस्थलबाट गत माघ ७ गते बाहिरिएको अबैध साढे ३३ किलो सुन हराएपछि तस्करीका ‘नाइके’ भनिएका चूडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले फागुन १८ गते शाक्यको हत्या गरेको प्रहरीको दावी छ ।