१९ बैशाख २०७५, बुधबार
  • कृष्ण अधिकारी

काठमाडौँ । लामो समयसम्म शिक्षण पेशामा संलग्न रहँदै आएनुभएकी प्रेमकुमारी पुनलाई जीवनमा कहिल्यै उद्यमी बन्छु भन्ने लागेको थिएन । २१ वर्षसम्म रोल्पाको विद्यालयमा शिक्षक पेशा गर्दै आउनुभएकी उहाँ मुलुकमा जारी सशस्त्र द्वन्द्वले पेशाबाट पलायन मात्र गराएन, पुख्र्यौली थातथलो नै छाडेर दाङमा विस्थापित बनायो । त्यतिबेला राज्य पक्ष र तत्कालीन विद्रोही माओवादीको दोहोरो मारमा परेका कारण गाउँ नै छाडेर विस्थापित हुनु पर्दाको पीडा सम्झंदै उहाँ भन्नुहुन्छ, ‘‘दुई ढुंगाबीचको तरुलको जस्तो दोहोरो चेपमा बस्न निकै कठिन भएकाले स्ठथायी जागिर छाडेर विस्थापित बन्नुपर्‍यो ।’’

फोटो : रासस

पाँचजनाको परिवारलाई कहाँ राख्ने र कसरी पाल्ने भन्ने चिन्ताले उहाँलाई सतायो । यस्तैमा उहाँले सिलाइकताइको काम गरेर हातमुख जार्ने उपाय खोज्नुभयो । त्यहाँ विभिन्न जिल्लाबाट विस्थापित भएर आएका थुप्रै भूमिहीन र एकल महिलाहरुको अवस्था निकै दयनीय देखेर उहाँलाई केही इलम गरी ती महिलालाई पनि सहयोग गर्ने इच्छा पलायो । ‘‘राति पनि मलाई निन्द्रा लाग्दैनथ्यो, कसरी ती महिलालाई कुनै न कुनै व्यवसायमा लगाउने भन्ने चिन्ताले’’ उहाँ भन्नुहुन्छ ।

सानो उमेरदेखि नै आमाले जंगलबाट अल्लो ल्याएर त्यसको धागो निकाली विभिन्न कपडाहरु बनाएको देखिकी उहाँलाई त्यही पुख्र्यौली पेशा गर्ने इच्छा जागेर आयो । जंगलमा त्यतिकै सडेर गएको अल्लो ल्याएर त्यसबाट धागो निकाल्ने र त्यस धागोलाई बिक्री गरी केही आम्दानी गर्न सकिने देखेर उहाँले अन्य महिलाहरुलाई पनि साथमा लिएर काम गर्न थाल्नुभयो । जंगलमा अल्लो सजिलै पाउन सकिन्छ । मंसिरदेखि चैतसम्म अल्लो संकलन गर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

२०६० सालमा स्थायी जागिर छाड्दा उहाँको हातमा करिब एक लाख परेको थियो । त्यति पैसाले व्यवसाय गर्न कठिन हुने भएकाले स्थानीय साहूसँग ३६ प्रतिशत व्याजदरमा रु तीन लाख ऋण लिएर अल्लोको धागो उत्पादनको व्यवसाय सुरु गर्नुभयो । डोटीको हन्तेश्वर गाविस गैराबजारबाट रु पाँच लाखको अल्लो संकलन गरी व्यवसाय सुरु गर्नुभयो । यसमा पाँचजनाले पूर्ण र २५० महिला आंशिक रुपमा संलग्न हुन थाले । एक किलो धागो काट्दा रु ८० ज्यालाको हिसाबले दिनभरि एकजना महिलाले रु १५० सम्म कमाउन सक्ने उहाँ बताउनुहुन्छ, ‘‘यति कमाइले परिवारको सम्पूर्ण खर्च टार्न नसकिए पनि फुर्सदको समयको सदुपयोग हुने र घरखर्चमा सहयोग पुग्नेछ ।’’

विसं २०६५ सम्म गलैँचा र कार्पेटको धागो उत्पादन गर्दै आउनुभएकी उहाँले आफ्नो र दुई छोरीको नाम पहिलो अक्षरबाट प्र.नि.स. अल्लो धागो तथा जडिबुटी सप्लायर्स नामक फर्म दर्ता गर्नुभयो । यसको चार वर्षपछि त्यस संस्थाको नाम परिवर्तन गरी २०६९ पुष २७ मा प्र.नि.स. अल्लो तथा तयारी पोशाक उद्योग दर्ता गरी अल्लोबाट विभिन्न कपडा तयार गर्न थाल्नुभयो । उहाँको यस उद्योगमा ३५ जना महिलाले प्रत्यक्ष र १२ सय महिलाले अप्रत्यक्ष रोजगारी पाएका थिए ।

एक्लै व्यवसाय गर्दा राज्यबाट सहयोग नपाउने र कतिपय समस्या आउन थालेपछि २०७१ वैशाख ३ मा उहाँकै अग्रसरतामा चिनारी महिला साझेदारी समूहको पनि दर्ता भयो । यसमा ७१ जना महिला प्रत्यक्ष रुपमै संलग्न छन् भने अप्रत्यक्षरुपमा १६ सय महिलाले काम गर्ने गर्दछन् । भूकम्पपछि गलैँचा, कार्पेटको धागोको माग हुन छाडेपछि को उहाँको भनाइ छ ।

रोल्पामा प्रसस्त जग्गाजमिन भएपनि दाङमा कुनै आफ्नो अचल सम्पत्ति नभएकाले बैँकले ऋण दिन नमान्दा चर्को व्याजमा ऋण लिनु परेको उहाँ बताउनहुन्छ । सरकारी अनुदानका लागि विभिन्न मन्त्रालय धाउँदा पनि हामीले कुनै सहयोग पाएनौँ । राज्यले हामीजस्ता उद्यमी महिलालाई सहुलियत दरमा ऋण, प्रविधि र तालिम दिएमा स्थानीयस्तरमै रोजगारी सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन सकिने पुनको भनाइ छ ।

उहाँले अल्लोबाट निर्मित विभिन्न सामग्रीहरु विक्री गरी वर्षमा २५÷३० लाख रुपैयाँको आम्दानी गर्न सकेको हुने गर्दछ । दाङमा उहाँको संस्थाले निर्माण गरेका सामग्रीहरुको विक्रीका लागि शो–रुम रहेको छ । राजधानीलगायत अन्य मुख्य शहरमा पनि शो–रुम राख्ने उहाँको योजना छ ।

देशका कुनैपनि शहर बजारमा घरेलु उद्यमसम्बन्धी मेला प्रदर्शनी भएको थाहा पाउना साथ उहाँ आफूले बनाएका सामग्रीहरु लिएर पुग्नुहुन्छ । एउटा मेलामा उहाँले करिब चार÷पाँच लाख रुपैयाँको सामग्री विक्री हुने गर्दछ । मेला महोत्सवहरुमा उहाँले पटकपटक उत्कृष्ठ उद्यमीका रुपमा पुरस्कार पनि पाउनु भएको छ । पहिलोपटक गत चैतमा काठमाडौँमै भएको प्रदर्शनीमा उहाँलाई सर्वोत्कृष्ट उद्यमी घोषणा गर्दै पुरस्कृत गरिएको थियो ।

अर्गानिक वस्तुको सामग्री बनाउँदा धेरै मेहनत, समय लाग्ने हुँदा बजारमा पाइने अन्य सामग्रीभन्दा केही महंगो पर्ने हुँदा आम जनतामा यसप्रति सकारात्मक धारणा बन्न नसकेको उहाँ बताउनुहुन्छ । उहाँको उद्योगबाट अल्लोको धागो, कपडाको साथै सल, झोला, पर्स, जुत्ता, कोट, क्याप, टोपीजस्त सामग्रीहरु उत्पादन हुने गर्दछ ।

उहाँकै देखासिकी गरेर समूहमा आवद्ध कतिपय महिलाले पनि छुट्टै फर्म दर्ता गरी व्यवसाग सुरु गरेका छन् । सुरुमा आफूले सेवार खोलामा लगेर अल्लोको धागो प्रशोधन गर्दा स्थानीयवासीलाई उचालेर आफूलाई हतोत्साही गर्न खोज्नेहरु पनि अहिले यस व्यवसायमा लागेको देख्दा आनन्द लाग्छ उहाँ भन्नुहुन्छ ।

अल्लोबाट उत्पादित कपडालाई सरकारी पोशाक बनाउन सकिए स्वदेशी उत्पादनले प्रोत्साहन पाउने उहाँ बताउनुहुन्छ । ‘एक घर एक उद्यमी’ भन्ने नारालाई अभियानको रुपमा सञ्चालन गरिए युवायुवतीलाई विदेश पलाउन हुनबाट रोक्न सकिने र देशको आर्थिक सम्बृद्धिमा सहयोग पुग्ने उहाँको विश्वास छ । रासस

LIVE TV