१९ बैशाख २०७५, बुधबार

विराटनगर । ३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अभियोगकोमा ६२ जनाविरुद्ध आज मुद्दा दर्ता गर्ने भएको छ । अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान मिति सकिनु ३ दिनअघि नै मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने भएको हो।

उक्त सुन तस्करी प्रकरणमा हालसम्म २८ जना पक्राउ परेका छन् भने मुख्य आरोपी चूणामणि उप्रेती ‘गोरे’ सहित फरार अन्य ३४ जना विरुद्ध पनि मुद्दा दर्ता गरिने छ। पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र सङ्गठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त उप्रेतीलाई सङ्गठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ । मोरङका प्रहरी प्रमुख बीसीका अनुसार बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागिएको हो ।

गत फागुन १८ गते सुन तस्करको समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेको थियो। हत्यापछि धरान हुँदै फागुन १९ गते विराटनगर आएको तस्कर समूहका टेकराज मल्ल ठकुरीले कुदाएको स्करपियोबाट शाक्यको शव फेला परेको थियो ।

पूर्वडीआईजी, एसपी, डीएसपी र नेता गुरुङसहित ६२ जनाविरुद्ध आज मुद्दा दर्ता  हुँदै

प्रहरीले पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्कालाई सङ्गठित अपराध सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

त्यसै गरी प्रहरी नियन्त्रणमा रहेका विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू विरुद्ध पनि सङ्गठित अपराधमा मुद्दा दर्ता गरिने तयारी भइरहेको छ ।

व्यापारीहरू महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङलाई पनि सङ्गठित अपराधमा मुद्दा दर्ता गरिने छ । मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरे  विरुद्ध कर्तव्य ज्यान र सङ्गठित अपराध सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

LIVE TV