१९ बैशाख २०७५, बुधबार

वीरगञ्ज । अमेरिकालगायत पश्चिमा राष्ट्रहरूमा कारागारलाई सुधार गृहका रूपमा लिने गरिन्छ । जान–अन्जानमा मान्छेले अपराध गर्छ र सजाय पाएपछि भुक्तानका लागि कारागार चलान गरिन्छ ।

दक्षिण एसियामा कारागार भनिए पनि पश्चिमा राष्ट्रहरूमा सुधार गृहका नामले कारागारलाई दिने गरिन्छ र त्यस्ता सुधार गृहहरूमा आवश्यक सम्पूर्ण सुविधाहरू रहन्छन् । जसका कारण अपराधीलाई अपराध गर्न हुन्न भन्ने ज्ञान उत्पन्न हुन्छ र ऊ त्यहाँ बसेकै कारण सुध्रन्छ । त्यसैले पनि सुधार गृह भनिएको हो । तर हामीकहाँ सुधार गृह त परैजाओस् क्षमताभन्दा दशौँ गुणा बढी कैदीहरू राखेर उल्टो उनीहरूलाई शोषण गर्ने प्रचलन छ । कारागार सुधार गृह होइन उल्टो त्यहाँ बसेर झन् अपराधी बनेर निस्कने अवस्था हामीकहाँ रहेको छ । कारागारबाट छुटेका व्यक्तिहरू धेरै अपराधमा संलग्न भई पुनः पक्राउ परेका घटनाले यस कुरालाई पुष्टि गर्दछ । याे खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।

हुन पनि कारागार कमाउने अखडाका रूपमा रहेको छ । कारागारको प्रशासन र सुरक्षा गृहमन्त्रालय अन्तर्गतको कारागार व्यवस्था विभागले हेर्ने गर्दछ भने सुरक्षा अधिकांश ठाउँमा नेपाल प्रहरी र केहीमा सशस्त्र प्रहरीले दिने गर्दछ । कारागारभित्रको सम्पूर्ण दैनिकी भने थुनिएका कैदीहरूबाट नै हुने गर्दछ । त्यसको प्रमुखका रूपम चौकिदार रहने गर्दछन् र उनको सहयोगीका रूपमा भाइ चौकिदारदेखि भाइ नाइकेको पद दिएर व्यक्ति तोकिने गर्दछ ।

वीरगञ्ज कारागारमा थुनिएका कैदीहरूले कतिसम्मको सास्ती व्यहोर्नुपर्छ भन्ने कुरा हालै जेलमुक्त भएका फूल असन अन्सारीले सार्वजनिक गरेका छन् । केही दिनअघिमात्रै जेलमुक्त भएका उनले सुनाए– वीरगञ्ज कारागारमा चौकिदारको कमाइ कुनै तस्करको भन्दा कम छैन । चौकिदार नाममात्रको भए पनि भाइ चौकिदारको आतंकले कैदीहरू पीडित बनेका छन् । एउटा कोकको जेलभित्र ५० रूपैयाँ तिर्नुपर्दछ भने प्रतिअण्डा ३० रूपैयाँ तिर्नुपर्दछ ।

कसैले यसको चूँसम्म पनि विरोध गर्न पाउँदैन । चौकिदारका रूपमा सेख सफी अन्सारी भए पनि वीरगञ्जको कारागारमा सम्पूर्ण जेलको कमाण्ड भाइ चौकिदारका रूपमा रहेका विदेशी साहले गर्ने गर्दछन् । कर्तव्य ज्यान केशमा जेल सजाय भोगिरहेका भाइ चौकिदार विदेशी साहले आफ्नो विरोध गर्ने कैदीहरूलाई तह लगाउन र आफ्नो हैकम र प्रभुत्व देखाउनका लागि १५ जना बाउन्सरहरू राखेका छन् ।

ती बाउन्सरहरूलाई उनले मासिकरूपमा तीन हजारका दरले रकमसमेत दिन्छन् । उनीहरूको काम जसले साहको विरोध गर्छ उनीहरूलाई कुट्नुमात्रै होइन कि ल्याएर गोलघरमा थुन्नुसम्म हो । गोलघर भनेको कारागारभित्रको सबैभन्दा सुविधा नभएको र कारागारभित्र पनि गलत काम गर्नेलाई थुन्ने अर्को ठाउँ हो । वीरगञ्ज कारागारको जेलका रूपमा चक्रमणि गौतम रहेका छन् । भाइ चौकिदार विदेशी साहले प्रहरी प्रशासनलाई मात्र नभएर कारागार व्यवस्था विभागका जिम्मेवार अधिकारीहरूसम्मलाई मासिक रकम पु¥याउने गरेको तथ्यसमेत छुटेका फूल असन अन्सारीले बताए । जिल्लाका एसपीदेखि सिडिओसम्मलाई भाइ चौकिदारले खरिद गरेका छन् । जेलर र जेलमा सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखको त कुरै भएन ।

कमिसन केन्द्रसमेत पुग्ने गरेको दावी अन्सारीले बताए । त्यसैले त उनले भने मट्टितेलको प्रतिलिटर १ सय बीस रूपैयाँ तिर्नुपर्छ भने आलु प्रतिकेजी १ सय बीस रूपैयाँ पर्छ वीरगञ्जको जेलभित्र । छुटेका फूल अन्सारीका अनुसार भाइ चौकिदार रहेका विदेशी साहले मासिक झण्डै १५ देखि २० लाख रूपैयाँ प्रहरी प्रशासनका नाममा खर्च गर्ने गर्दछन् ।

आखिर त्यो त्यति ठूलो रकम सबै कैदीहरूबाट नै असुल्ने काम उनले गर्दै आएको अन्सारीको भनाइ छ । केही महिनाअघिमात्रै विदेशी साहले गाउँमा ३ तले घर बनाएका छन् भने ५ विगाहा जग्गासमेत खरिद गरेका छन् । त्यतिमात्र होइन ७–८ महिना अघिमात्रै सालोको नाममा श्रीपुरमा ६५ लाखमा घरसमेत खरिद गरेका छन् विदेशी साहले । जेलमा बसेर आखिर यति ठूलो रकम कसरी उनले कमाए भन्दा कैदीहरूबाट नै असुल गरेर हो । टेलिफोन गरेकोदेखि कपडा धोएको रकम कैदीहरूले चर्को मूल्य तिर्नुपर्दछ भने थुनामा जाने कैदीहरूलाई बेड मिलाइदिएवापत मात्रै चौकिदारलाई १० देखि २० हजार रूपैयाँ एकमुष्ट तिर्नुपर्दछ । सरकारले कैदीहरूलाई रासनको व्यवस्था गरे पनि रासन खाएवाप उल्टो चौकिदारलाई ३ हजार रूपैयाँ दिनुपर्ने हुन्छ ।

आफन्तहरू आउँदा भेटघाट सहज गराइदिएवापत समेत चौकिदारलाई पैसा दिनुपर्छ भने भाइ नाइके बन्नका लागि २० देखि २५ हजार लगानी गर्नुपर्ने हुन्छ । वीरगञ्ज जेलमा भाइ चौकिदारका रूपमा रहेका विदेशी साहको यो आतंक जेलर कहाँसम्म नपुगेको पनि होइन तर जेलरलाई समेत मिलाएका कारण उनी निरीह बनेको दावी फूल अन्सारीको रहेको छ । धेरै विवादमा आएपछि ३ महिनाअघिमात्रै विदेशी साहलाई हेटौँडाको भीमफेदीस्थित कारागारमा सरुवा गरिए पनि उनी गएनन् उल्टो कारागार व्यवस्था विभागसम्म रकम खर्च गरी उनी पुनः वीरगञ्ज कारागारमा रहिरहन सफल भएका छन् ।

वीरगञ्ज कारागारमा चौकिदारपछि भाइ चौकिदार, नाइके, भाइ नाइके, गेट नाइके, चेक नाइके, बैदार नाइके, फूलबारी नाइके, पानी नाइके, भान्छे नाइके, भेटघाट नाइके, खेलकूद नाइके, पुजारी नाइके, मास्टर सिलाइ नाइके, मेडिकल नाइके, नाउ नाइके, कारखाना फर्निचर नाइके र आउटर नाइकेका रूपमा व्यक्तिलाई तोक्ने गरिन्छ र यो नाइके पदका लागि समेत १० देखि १५ हजार रूपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

त्यो सबै मिलाउने काम र असुल्ने काम यिनै भाइ चौकिदार विदेशी साहले गरेको छुटेका फूल अन्सारीले जानकारी दिए । आखिर कारागार सुधार गृह हो कि रकम असुल्ने केन्द्र भन्ने कुरा यस घटनाले पनि पुष्टि गर्दछ ।

LIVE TV