१९ बैशाख २०७५, बुधबार

काठमाडौँ, १८ वैशाख । रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ ।

परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “अबको एक हप्तामा हटाइने आधुनिक निर्माण सामग्रीका लागि बोलपत्र आह्वान गरिने छ, ढिलोमा आगामी जेठ १५ गतेबाटै पुनःनिर्माणको काम शुरु हुन्छ ।” यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयवासीको दवावपछि करीब चार महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको छ । गत चैत २२ गते संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, कामपाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीचको छलफलले उक्त निर्णय गरेको थियो ।

अहिले पोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण विभागले गरिरहेको छ भने पोखरीको छेउछाउमा निर्माण गरिएको पर्खाल कामपाले गरेको थियो । हालसम्मको पुनःनिर्माणका क्रममा रु दुई करोड ३० लाख खर्च भएको छ ।

LIVE TV