१९ बैशाख २०७५, बुधबार

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रुपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।

ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आउँदो असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम अहिलेसम्म शुरुआत हुन नसकेपछि निर्माण कार्य अलपत्र परेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

तीन वर्ष अगाडि एचके कन्स्ट्रक्सन प्रालिले तमैलमा २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी रु ११ करोड २५ लाखको लागतमा पुलको सम्झौता गरेको भए पनि अहिलेसम्म पुलको कुनै पनि कामको थालनी नगरेको स्थानीयवासी करन सिंहले बताउनुभयो ।

निर्माण कार्य सम्पन्न गर्ने म्याद अब दुई महिनामात्र बाँकी छ । खराब नियत भएको ठेक्दारलाई राज्यले कारवाही गर्नुपर्ने माग गर्दै उहाँले राजनीतिक आडमा ठेकदारले काम गर्दा जनता मर्कामा परेका गुनासो गर्नुभयो ।

पुल निर्माण भएपछि सेतीपारिका चार गाउँपालिका र नगरपालिकासम्म यातायात सञ्जाल जोडिने सम्भावना ठेकेदारको लापर्वाहीले तत्काल नदेखिएको साविक गडराय गाविसका गोविन्द्र बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो – “पुल निर्माण गर्ने ठेकेदार, सडक विभागको सेती लोक मार्गअन्तर्गतको केन्द्रीय कार्यालय, प्रदेश नं ७ का सभामुख र मुख्यमन्त्रीकामा धायौँ । अझै टुङ्गो लागेको छैन । ठेकेदारले नदीको वरपर किनारामा जगसमेत खनेको छैन ।”

असी मिटर लम्बाइ रहेको यस पुलको तीन वटा स्पान रहेको र पाइल स्टमबाट पिल्लर राखी माथि सिमेन्ट ढलान गर्नु पर्ने पुलको डिजाइन छ । जमिनभित्र १६ मिटर मेसिन दबाएर २० वटा पाइल बनाई एक वर्गमिटरसहितको जमिनभित्रैबाट सिमेन्ट ढलान गरेर आउनुपर्ने यसको डिजाइन भएको पुल बनाउने ठेकेदारका प्रतिनिधि एगेन्द्र कुँवरले बताउनुभयो ।

LIVE TV