१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । शैक्षिक गुणस्तर सुधार गर्न भन्दै सरकारले हरेक वर्ष वार्षिक बजेटको ठुलो हिस्सा शिक्षाका लागि खर्च गर्छ । तर सरकारको लगानी रहेका केही सामुदायिक बिद्यालय बाहेक अधिकांशको शैक्षिक अवस्था दयनिय छ । शिक्षा नियमावलीमा सरकारी नियम अनुसार सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई पुर्ण निःशुल्क अध्ययन गराउनु पर्छ ।

तर पछिल्ला दिनहरुमा केही सामुदायिक बिद्यालयहरुले नीजि बिद्यालय सरहनै बिद्यार्थीबाट शुल्क असुली रहेका छन् । बिद्यालयले नीजि बिद्यालयको जस्तै बिल नै बनाएर सहयोग, कम्युटर शिक्षा, ट्युशन कक्षा, कम्युटर कक्षा लगाएतका नाममा राखेर शुल्क असुलि गरिरहेका छन् ।

काठमाडौं उपत्यकाका मानसिंह धर्म उच्च माध्यमिक बिद्यालय, तिलिङटार माध्यामिक बिद्यालय, ग्राम शिक्षा मन्दिर माध्यामिक बिद्यालयले यसै गरी शुल्क उठाइरहेका छन् ।

मानसिंह धर्म उच्च माध्यमिक बिद्यालय ट्युशन शुल्क भनेर प्रति महिना प्रति बिद्यार्थी २ सयका दरले पैसा उठाइरहेको छ ।

तिलिङटार माविले सहयोगका नाममा १४ सयका दरले पैसा लिएको छ । सामुदायिक बिद्यालयमा इच्छुक व्यक्तिले सहयोगका रुपमा लिन पाइने व्यवस्था भएपनि सम्पुर्ण बिद्यार्थीलाई अनिवार्य भने गर्न पाइने छैन ।

यस्तै ग्राम शिक्षा मन्दिर माध्यामिक बिद्यालय विविध फारम शुल्क भनेर १२ सय ५० रुपैयाँ लिइरहेको छ । उपत्यकाका तीन बिद्यालयको अवस्था देशभरका अधिकांश सामुदायिक बिद्यालयको प्रतिनीधि घटना हुन् ।

सामुदायिक बिद्यालयमा शिक्षकलाई जागिर खुवाउनै समस्या भएको तीतो यर्थाथ भएपनि बिद्यार्थीबाट अनेक शिर्षक देखाएर शुल्क लिनु गैर कानुनी हो ।

LIVE TV