१८ बैशाख २०७५, मंगलवार

आज मे दिवस । मजदुर दिवस । मजदुर दिवस मनाउने क्रममा विभिन्न कार्यक्रमको आयोजना हुँदा चर्का चर्का नारा लागे, कार्यक्रम स्थलहरु सजिए, लाखौँ खर्च गरिए ।

एक बर्षका लागि काम पुग्यो । अब अर्को बर्षको मे दिवसमा यस्तै भव्य कार्यक्रमहरु गर्नुपर्छ । तगडा भाषण ठोक्नु पर्छ । मजदुरको नाम लिएर राजनीति गर्नेहरुका हात गोडा हेराँै र वास्तविक मजदुरका हात गोडा हेरौँ ।

मजदुरको हक हितमा आवाज उठाउने मान्छे १० बर्षमा कत्रो कत्रो नेता बन्यो र अर्को ५ बर्षमा कत्रो नेता बन्नेवाला छ । तर मजदुरका जीवनमा परिर्वतन उसको भाषण, घोषणा र तारे होटलमा गरिने कार्यक्रमले कुनै बर्ष पनि ल्याएन ।

मजदुर दिवसले मजदुर लिडर जन्मायो तर मजदुरको गरिबी मारेन । ठुला भाषण ठोक्ने मजदुर नेताहरुलाई बताउँ कि आज दिनभर दुधे बालकलाई छेउमा राखेर केही महिनाकी सुत्केरी आमा, खोला किनारमा गिट्टी कुटीरहेकी थिइन, ठिक त्येही बेला जती बेला मजदुरको जीवन उकास्ने गफ तपाँई माइकमा चुट्दै थिए ।

श्रमीकका हक अधिकारको भाषण अर्को पार्टी प्यालेसमा चलिरहेको थियो । ठिक त्यती नै बेला देशमा रोजगारी नपाएपछि परिवार पाल्न विदेशीने निधो गरेको गरीब युवक चर्को व्याजमा पैसा लिन साहुले बनाएको कागजमा आजै ल्याप्चे लगाउँदै थियो ।

१२÷१५÷१८ घण्टा मजदुरी नगरी परीवार पाल्न नसक्ने कसैलाई केही केही राहत दिएन मजदुर दिवसले । दिन भरी मजदुर दिवसको कार्यक्रममा दौडदा दौडदा भ्याइ नभ्याइ भएर थाकेर लखतरान परेका मजदुर नेताहरु यति खेर दुइ पेग लडाइवरी सोफामा पल्टेर न्युज च्यानलहरुमा आफ्नो भाषण खोज्दै हुनु हन्छ, रिमोटले च्यानल चेन्ज गरी गरी ।

तर ठिक यति बेला १० हजारको कागजमा सही गरेर लाख लाख बुझाएका युवाहरु खाडी जाने प्लेन कुरेर त्रिभुवन विमास्थलको प्रतिक्षालयमा लामबद्ध छन् ।

घोषणा गर्न तछाड मछाड गरीरहेका मन्त्रीहरु मध्ये एक जनाले महिनाको सय जना नेपालीलाई स्वदेश फर्काउने घोषणा गरिदिएको भए देश फर्कन हजारौले आवदेन दिन्थे ।

तर प्रत्येक बर्ष जस्तै यो बर्ष पनि मजदुर दिवस भव्यसँग मनाइयो । मजदुरको नेता, देशकै नेता भयो । मजदुरको प्रयोग भनेको बन्द, हड्ताल गर्नु पर्दा, विभिन्न दलको झण्डा बोक्ने, जीन्दावाद भन्ने र मुर्दावाद भन्ने मात्र भयो ।

LIVE TV