१८ बैशाख २०७५, मंगलवार

 कलकत्ताबाट मोदी सिधैं जनकपुर जाने

नेपाल भ्रमणमा बैशाख २८ गते आउँन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै जनकपुर आउने कार्यतालिका तय भउको छ । मोदी काठमाडौ नआई सिधै जनकपुर जाने तयारी भइरहेको हो । जसका कारण जनकपुरमा मोदीको स्वागतको लागि तयारी तिब्र पारिएको छ । २८ गते मोदी भारतको कलकत्ता एअर पोर्ट हुँदै हेलिकोप्टरबाट सिधै जनकपुर जाने छन । जहाँ उनलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली पुग्ने कार्यक्रम तय भएको छ ।

बैशाख २८ गते पटना हुँदै जनकपुर आउने मोदीले जानकी मन्दिरमा पूजापाठ गर्ने छन भने रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । अभिनन्दन पछि मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङ पुग्ने छन । सोही दिन अपरान्ह काठमाडौ उत्रिएपछि मोदीको राजनीतिक भेटवार्ताको क्रम सुरु हुने छ ।

सुरक्षा व्यवस्था मिलाउँन गृहमन्त्रीदेखि मुख्यमन्त्रीको दौडधूप

मोदीको नेपाल भ्रमणको सुरक्षा व्यवस्था मिलाउन अहिले गृहमन्त्रीदेखि २ नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको दौडधुप चलेको छ । मोदी सिधै जनकपुर जाने भएकाले सुरक्षा प्रबन्ध मिलाउनको लागि गृहमन्त्री रामबहादुर थापा मङ्गलबार जनकपुर पुगेका छन । गृहमन्त्री थापासँगै तीन वटै सुरक्षा निकायका प्रमुखले मोदीलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदान र पूजापाठ गर्ने जानकी मन्दिरको निरीक्षण गरेका थिए ।

सो क्रममा दुई नम्बर प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मोदीको स्वागत र सुरक्षाका लागि गरिएको तयारीबारे गृहमन्त्री थापा र सुरक्षा अधिकारीलाई जानकारी गराएका थिए । मोदीको जनकपुर भ्रमणको सबै तयारी र सुरक्षा प्रबन्ध प्रदेश सरकारले गर्दै छ । मोदीको नेपाल भ्रमण धार्मिक भएको गृहमन्त्री थापाले बताएका छन । यो भ्रमणले नेपाल र भारतबीच सदियौंदेखिको सामाजिक र धार्मिक सम्बन्धलाई थप उचाइँमा पु¥याउने विश्वास गरिएको छ ।

सुरक्षाको मजवुत प्रवन्ध गर्न लागेको प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालवावु राउत र अन्य अधिकारहरु भन्छन् ।

मोदीसँग के चाहन्छन् जनकपुरका नागरिक ?

मोदीले २०७१ साउन १८ गते नेपालको भ्रमण गर्दा नै जनकपुर धाम र मुक्तिनाथ जाने इच्छा मोदीले जनाएका थिए । तर मोदीको जनकपुर जाने कार्यक्रम स्थगित भएपछि जनकपुरका स्थानीय जनता निकै आक्रोसित बनेका थिए । जानकी मन्दिरको दर्शन गर्न जाने र त्यसको तयारी गर्न भनिएपछि जनकपुरबासी खुशीका साथ मोदीको स्वागतको तयारीमा जुटेका थिए ।

मोदीलाई नागरिक अभिन्दन गर्नुदेखि मिथिला पेन्टिङ उपहार दिनेसम्मको तयारी भएको थियो तर दूतावासले मोदी जनकपुर आउन नसक्ने कुराको जानकारी गराएपछि जनकपुरबासी निकै आक्रोसित बनेका थिए । त्यतीबेला सुरक्षाको कारण मोदीको जनकपुर भ्रमण स्थगित गरिएको बताइएको थियो ।

तर अहिले भने मोदीको भ्रमण जनकपुरबाट नै सुरु हुँदै छ । यसबाट जनकपुरबासी निकै खुसी देखिएका छन ।
सुरक्षाको कारण देखाउँदै अघिल्लो पटक स्थगित भएको मोदीको जनकपुर भ्रमणलाई सफल पार्न सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री देखि मुख्य मन्त्री नै दौडधुपमा देखिएका छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाखको अन्तिम साता नेपालको विशिष्ट पाहुना बन्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि मात्र मोदीलाई स्वागत गर्ने तयारी गरिरहेको नेपालले ओलीको चीन भ्रमणको मिति टुंगो लाग्नु अघि नै मोदी नेपाल आउने कार्यतालिका तय भएको छ ।

कुनै पनि भारतीय प्रधानमन्त्रीले १७ बर्ष लामो समय नगरेको नेपाल भ्रमणको परम्परालाई तोड्दै मोदीले पहिलो पटक नेपालको भ्रमण गर्दा ठूलो तारिफ पाएका थिए । तर त्यो तारिफको ताली लामो समय रहन सकेन । भूकम्प जस्तो असैह्य चोट बोकेको समयमा नाकावन्दी लगाएपछि प्रधानमन्त्री मोदी र भारतप्रति नेपाली जनमानस निकै नकारात्मक बन्यो । दिल्ली र काठमाडौंलाई रेलले जोड्ने र समुद्रसम्मको जलयात्राको पहुँच दिएर नेपालसंगको विग्रेको भनिएको सम्बन्ध पुनःमजबुत बनाउने मोदीको घोषणा कार्यान्वयनमा ल्याउनका लागि पनि यो भ्रमणलाई नेपालले सदुपयोग गर्नु पर्ने जानकारहरुको भनाई छ ।

मुक्तिनाथमा पनि स्वागतका लागि शुरु भयो तयारी

मोदीको भ्रमणमा लागि मुस्ताङको मुक्तिनाथमा तयारी तीव्र पारिएको छ । मोदी मुक्तिनाथ जाने भएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको नेतृत्वमा यसको तयारी शुरु भएको हो । हेलिप्याड बनाउनेदेखि मन्दिर श्रृंगार गर्ने कामलाई तीव्रता दिएको स्थानीय प्रशासनको भनाई छ । बेनी–जोमसोम सडकको मर्मत, मुक्तिनाथ मन्दिर छेउको भिआइपी कक्ष, हेलिप्याडदेखि मन्दिरसम्म आउने बाटो बनाउने काम अहिले धमाधम भइरहेको छ ।

सधैंको समस्या बन्दै आएको सीमाको बिषय

नेपाल र भारतबीचको बषौँदेखिको सिमा विवाद झनपछि झन बल्झँदो छ । भारतसंग जोडिएका २६ जिल्ला मध्ये २३ जिल्लामा सिमा विवाद चलिरहेको छ । सीमाङ्कनका लागि पिल्लर त गाडिएका छन् । तर अहिले ती पिल्लर निश्चित सिमामा छैनन् । धेरै स्थानका सिमा ढालिएको छ भने कति हराइसकेका छन् ।

धेरै पहिलेदेखि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्गकिलोमिटर भनेर उल्लेख छ । तर नेपालको दर्जनौँ ठाउँ सिमा मिचिएको छ । ति भूभाग नामेट भइसकेको छ । नेपाली भूमी हामीले आफ्नो भन्न पाइरहेका छैनौँ । लालपूर्जा बोकेर बषौँदेखि भोगचलन गर्दै आएको जमिन रातारात हडपिएको छ र आफ्नो भन्न पाइएको छैन ।

सिमाका नागरिकहरुमा आफ्नो भुमि भारतमा जाने त्रास छ । भारत भ्रमणका बेला प्रधानमन्त्री ओलीले नउठाएका यो विषयलाई मोदीसामु राख्नैपर्ने जरुरी छ । पछिल्लो समय कन्चपुरको पुर्नवासमा भएको सीमादेखि देशमा सबै ठाउँमा भएका सीमा विवादहरुवारे खुलेर कुरा गर्दै समस्या सामाधानका लागि प्रयास गर्न जरुरी छ ।

 डुबानको समस्याको सार्थक पहल होस्

सप्तरी, मोरङ, सुनसरी, कैलाली, रौतहट, बर्दिया लगाएतका तराईका अधिकांस भुभागहरुमा बर्षेनी डुवानको समस्या छ । तराईका अधिकांश भुभागहरु बाढी र डुवानले क्षतबिक्षत पार्छ । सयौँले जयान गुमाउँछन् । हजाराँै मानिसहरु घरबार बिहिन भएका छन् । तराईमा बाढी आउनुको मुख्य कारण भारतले देशको पूर्वि क्षेत्रदेखि पश्चिमी क्षेत्रसम्म बनाएको बाँध हो ।

बर्खाको समयमा पानी परेपछि नदीमा पानीको सतह बढ्दै जान्छ तर भारतले बाँधको सबै ढोका नखोलिदिदा तराईका अधिकांस भुभागलाई डुवाउने गरेको छ । बर्षेनीको यो समस्या यस वर्ष पनि आउने निश्चित छ । तर सरकारले भारत सरकारसंग कहिल्यै यसको समाधान खोज्ने प्रयास गरेन । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको क्रममा यसबारे समाधान खोज्नेमा तराईबासी निकै आशावादी थिए तर यसो हुन सकेन । यो विषय मोदीको भ्रमणमा उठ्नैपर्ने विषय हो ।

आकाशलाई प्रयोग गर्न दिने सम्झौता व्यवहारमा लागू होस्

नेपालको जमिनमा मात्रै होइन आकाश पनि भारतीय अतिक्रमणबाट मुक्त छैन । नेपाल आउने जहाजका लागि थप रुट दिन भारतले लामो समयदेखि आनाकानी गर्दै आएको छ । नेपालले चाहेको रुटबाट जहाजहरु नेपाल आउँन अनुमति नदिदा नेपाली आकाशमै लामो समय विमान होल्ड गरि राख्नु पर्ने अवस्था छ भने कतिपय अवस्था भारतको कलकत्ता एअरपोर्ट लगेर ल्याण्ड गर्नुपर्ने अवस्था छ । यो समस्याले गर्दा उद्घोषित लुम्विनी अन्तराष्ट्रिय विमानस्थल अलपत्र छ । जस बारेमा ओलीले भारतीय प्रधानमन्त्री मोदिसंग सम्झौता गर्नेपर्छ ।

पन्चेश्वर आयोजनाको डीपीआरको बिषय टुङग्याइयोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विसं २०७१ साउन १८ गते गरेको नेपाल भ्रमणको क्रममा एक वर्ष भित्र आयोजनाको डिपिरआरलाई अन्तिम रुप दिने सहमती जनाएका थिए । तर हालसम्म पनि यो आयोजना जस्ताको तस्तै नै छ । २०५२ माघ २९ मा भएको महाकाली सन्धिअनुसार शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने सहमति भएको थियो । तर यो आयोजना अलपत्र छ । जस कारण दुबै देशले यसको फाइदा लिन सकिरहेका छैनन् । यो विषय मोदीको नेपाल भ्रमणमा टुङ्गो लगाउन सरकारले पहल गर्नुपर्छ ।

ग्याँस बुलेटले सम्बन्धी बिषयको निरुपण होस्

नेपालीहरुको ५ अर्ब भन्दा बढी लगानी रहेको ग्यास बुलेटमा अहिलेसम्म भारतीय ग्यास बुलेटबाट नै ग्यास ल्याउनुपर्ने बाध्यकारी अबस्था छ । भारतबाट नेपालमा ग्यास ल्याउनको लागि ग्यास बुलेटलाई रुट परमिटको साथै बिस्फोटक लाईसेन्स भारत सरकारले दिनुपर्छ । तर भारतले नेपाली गयास बुलेटलाई अनुमती नदिदा नेपाललाई असर परिरहेको छ । यसबारेमा तत्कालै भारतसंग कुरा राख्नुपर्छ ।

 भारतीय नोट सटहीको अन्योल समाधान गरियोस्

भारत सरकारले ९ नोभेम्बर २०१६ देखि चलनचल्तिमा रहेको ५ सय र हजारका नोटहरुमा प्रतिबन्ध लगायो । जसको ठुलो असर नेपलमा पनि पर्न गयो । नेपालको बित्तिय बजारमा अझैपनि ५ करोड भारु अर्थात ८ करोड भन्दा बढी नेपाली रुपैयाँ छन् । नेपालमा रहेको भारतीय रुपैयाँ बैधानीक हो भनी विश्वस्त पार्न नसक्दा ८ करोड भन्दा बढी रकम अझै पनि अन्यौलमा छ । जसको समाधानका लागि तत्कालै मोदिसंग छलफल गर्नुपर्ने देखिन्छ ।

यसबाहेक ब्यापारघाटा, भारत र नेपालबीचको टेलिफोन शुल्क घटाउने विषयको स्पष्ट निचोड दिनु जरुरी छ । र ओलीले भारतभ्रमणमा गरेका सबै विषय र सम्झौतालाई कार्यान्वयनको दिशामा लैजान मोदीसंग अडिग रुपमा कुरा उठाउनु आबश्यक छ ।

LIVE TV