१८ बैशाख २०७५, मंगलवार

लोडसेडिङ समस्या अन्त्य गरेको विद्युत प्राधिकरणलाई अब विद्युत चुहावटको समस्याले सतायो, प्रति बर्ष ५९ करोड युनिट विद्युत चुहावट भएपछि प्राधिकरण न्यूनीकरणमा जुट्यो

काठमाडौं । १२ घण्टासम्मको लोडसेडिङ समस्या अन्त्य गरेको नेपाल विद्युत प्राधिकरणलाई यतिबेला विद्युत चुहावटको समस्याले सताएको छ । प्रति बर्ष ५९ करोड युनिट विद्युत चुहावट भएपछि प्राधिकरण यसको न्युनीकरणमा जुट्न थालेको हो ।

मुलुकबाट लोडसेडिङ अन्त्य भएपनि विद्युत चुहावटको समस्याले भने सताउन थालेको छ । नेपालमा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा १४ प्रतिशत विद्युत चुहावट भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार वितरण तथा ग्राहक सेवाबाट अत्यधिक विद्युत चुहावट हुने गरेको छ । वितरण तथा ग्राहक सेवा अन्तर्गत ५९ करोड युनिट विद्युत चुहावट भएको प्राधिकरणले जनाएको छ । विद्युत चुहावटबाट राज्यलाई करोडौं रुपैंया राजश्व गुमेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाई छ ।

नेपालमा सबैभन्दा बढि तराईका जिल्लामा विद्युत चुहावट हुने गरेको छ । लोडसेडिङ नहुँदा चौविसै घण्टा विद्युत आपूर्ति हुने हुँदा तराईका विभिन्न जिल्लामा मात्रै ५० देखि ६० प्रतिशतको हाराहारीमा विद्युत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार जनकपुर क्षेत्रीय कार्यलय अन्तर्गत जलेश्वर वितरण केन्द्रको चुहावट ६१ प्रतिशत छ । यस्तै, काठमाडौ क्षेत्रीय कार्यालय अन्तर्गत महाराजगंज वितरण केन्द्रको चुहवाट ४ दशमलव ३४ छ भने भक्तपुर वितरण केन्द्रको चुहावट ३७ प्रतिशत रहेको निर्देशनालयको दावी छ ।

विद्युत चुहावटलाई शुन्यमा झार्नका लागि प्राधिकरणले स्थानीय जनप्रतिनिधिसंग मिलेर काम गरिरहेको छ । कमजोर भौतिक संरचनालाई समेत व्यवस्थित गरी प्राधिकरणले ५० देखि सय मेगावाटसम्मको माग घटाउने लक्ष्य लिएको छ ।

LIVE TV