१८ बैशाख २०७५, मंगलवार

ललितपुर । अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा चर्या गुरु पद्मराज बज्राचार्य (माहिला गुरुजु) सम्मानित हुनुभएको छ ।

अन्तर्राष्ट्रिय नृत्य दिवस अप्रिल २९को अवसरमा नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले ललितपुरको केशव नारायण चोक, दरवार क्षेत्र मंगलबजारमा कार्यक्रमको आयोजना गर्दै चर्या गुरु बज्राचार्यलाई सम्मान गरेको हो ।

कार्यक्रममा बज्राचार्यलाई संम्मान गर्ने क्रममा संघका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले सगुन टिका लगाइदिनु भयो भने केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले फुलमाला लगाइदिनु भयो । परम्परागत एवम् सांस्कृतिक रुपमा सम्मान गर्ने क्रममा ललितपुर शाखा अध्यक्ष स्वजन रघुवंशीले बेतालि बाँधिदिनु भयो । त्यसैगरी प्रदेश ३ ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सभासद् कृष्णलाल महर्जनले दोसल्लां ओढाई सम्मान पत्र प्रदान गर्नुभयो । सम्मानित बज्राचार्यले यस सम्मानले आफुलाई ठुलो प्रेरणा मिलेको बताउनु भएको थियो ।

सभासद् महर्जनले हाल आएर नेपालमा पनि अन्तर्राष्ट्रि नृत्य दिवसलाई धुमधामका साथ मनाउन थालेकोमा खुसी व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले देशमा लुकेर बसेका प्रतिभा उजार गर्न सहयोग गर्न बताउनुभयो । कला र कलाकारीता क्षेत्रको विकासको लागी आफुले सक्दो सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि महर्जनले व्यक्त गर्नुभयो । संघका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले नृत्यलाई पाठ्यक्रममै समावेश गरी शैक्षिक स्तरमै यसको बिकास गर्नुपर्ने विचार राख्नुभयो । कलाकार देशको गहना नभइ राज्यकै पाँचौ अंग रहेको राजोपाध्यायले दोह¥याउनुभयो ।

सभासद् महर्जनले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन भएको कार्यक्रममा शाखाका सचिव अनुप शाक्यले स्वागत गर्दै शाखाबाट विगतमा भएका उद्घोषण तालीम, चर्या नृत्य कार्यशाला गोष्ठी लगायतका कार्यक्रमको बारे जानकारी दिनुभयो । त्यसैगरी सचिव शाक्यले आउँदो जेठको दोश्रो साता शाखा अध्यक्ष स्वजन रघुबंशीको एकल साँझ र जेठको अन्तिम सातामा नेवाः ताल पद्धतिको बारे कार्यशाला आयोजना गर्ने योजनाको पनि उद्घोष गर्नुभयो ।

कार्यक्रममा हिपहप, जुम्बा लगायतका पाश्चात्य नृत्यको साथमा चर्या, कत्थक, कौडा, झ्याउरे नृत्यहरु पनि प्रस्तुत गरीएको थियो ।

 

LIVE TV