१८ बैशाख २०७५, मंगलवार

विराटनगर । सरकारले श्रम मन्त्रालयमार्फत् देशका २ स्थानमा श्रमिक अस्पताल बनाउनका लागि जग्गा खोजीको कामलार्इ तीव्रता दिएकाे छ । विभिन्न स्थान खाेजी कार्य भइरहे पनि मापदण्डभित्र पर्ने गरी सुनसरीको दुहबीमा मात्र जग्गा फेला परेको जनाइएकाे छ ।

एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री, उद्योगी व्यवसायीको पहलमा दुहबी नगरपालिकाको वडा नम्बर ७ मा जग्गाको अवस्था बुझ्न गएको टोलीले सोही जग्गामा अस्पताल निर्माणका लागि सिफारिस गर्ने निर्णय गरेको छ । अाज मे दिवसकाे अवसरमै भएकाे उक्त निर्णयबाट  अब मजदूरहरूको उपचारका लागि छुट्टै श्रमिक अस्पताल बन्नेमा अाशा जगाएकाे छ ।

मोरङ सुनसरी औद्योगिक करिडोरमा मात्रै झण्डै ४ सय उद्योगहरू छन् । त्यहाँ काम गर्ने सयाैं मजदुर अहिले पनि समयमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्थामा छन् । मुलुकभरकै मजदूरका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी सुविधा र औषधि उपचार सुविधाको विषयमा राज्यकाे समेत विगत लामाे समयदेखि खासै ध्यान गएकाे देखिन्न ।

दुहबी नगरपालिकाको वडा नम्बर ७ मा जग्गाको अवस्था बुझ्न गएको टोली

दुहबी नगरपालिकाले ८ बिगाहा नम्बरी अन्य ऐलानी जग्गासहित १२ बिगाहा जग्गा अस्पतालन निर्माणका लागि उपलब्ध गराउन तयार भएपछि अब अस्पताल बनाउनका लागि श्रम तथा रोजगार मन्त्रालयमा पहल थाल्ने तयारी छ । कोशी राजमार्गभन्दा करीब अढाइ किलोमिटर पश्चिममा रहेको ८ बिगाहा जमिनमा श्रमिक अस्पताल निर्माण हुनेछ । त्यसका लागि संघीय सरकारको श्रम तथा रोजगार मन्त्रालयबाट स्वीकृति आवश्यक पर्छ ।

अहिलेको सामाजिक विकास कोषको सबै रकम थन्किएर बसेकोले श्रमिक अस्पताल निर्माणका लागि श्रम मन्त्रालयले स्वीकृती दिएपछि पूर्वाधार निर्माणको काम शुरु हुनेछ । तर त्यसका लागि नेपाल सरकार, उद्योगी तथा श्रमिकबीचको त्रिपक्षीय सहमति आवश्यक पर्छ ।

नेपाल सरकारको सामाजिक विकास कोषमा १५ अर्ब रुपैयाँ रहेकाले त्यही रकमले अस्पताल निर्माण गर्ने सरकारको योजना रहेको बताइएकाे छ ।

LIVE TV