१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी एक नेपाली युवतीमाथि सामूहिक यौन दुर्व्यवहार भएको छ । गत शुक्रबार ओमानको माबेला भन्ने स्थानमा ५ जना युवाको समूहले अमर्यादित कार्य गरेको ओमानस्थित नेपाली दूताबासले जनाएको छ ।

युवतीमाथि अमर्यादित गतिविधिपछि पोल खुल्ने डरले ती युवाहरुले मारेर फाल्ने योजना बनाएको समेत दूतावासले जनायो । उनीहरूको योजना थाहा पाएकी महिलाले तत्कालै बसिरहेको कोठाको अट्याच्ड बाथरुममा लुकी ज्यान बचाएको दूतावासको भनाइ छ । बाथरूममा लुकेर उनले सुरक्षाका लागि मध्यरातमा ओमान प्रहरीलाई खबर गरेकी थिइन् । सोलगत्तै पुगेको प्रहरी टोलीले उनलाई सकुशल उद्धा गर्न सफल भएको थियो ।

दूताबासका अनुसार बुटबलकी २९ वर्षीया ती युवती भारतको नयाँदिल्ली, युएई हुँदै २०७३ माघ ३ मा मस्कटमा घरेलु कामदारको रुपमा पुगेकी थिइन् । तर, स्पोन्सरले समयमा तलब नदिने, पेटभरी खान पनि नदिने, गाली गर्ने लगायत गर्न थालेपछि उनी स्वच्छाले उक्त घर छाडी आजाद भन्ने एक बंगालीको विस्वासमा परेर अर्को कामको खोजीमा गत बैशाख १४ गते मावेला पुगेकी थिइन् ।

मावेलामा बंगालीले एक बन्दै गरेको घरको भूईतल्लामा रहेको कोठामा राखेको र त्यही शुक्रबार साँझ ५ जनाको समूहले अमर्यादित गतिविधि गरेका हुन् । प्रहरीले यसबारे मस्कटस्थित नेपाली दूताबासलाई आइतबार जानकारी गराएपछि मात्रै घटना बाहिर आएको थियो ।

कुबेती प्रहरीले अहिले पीडित महिलासहित ५ जनालाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाएको दूताबासले जनाएको छ ।

LIVE TV