१८ बैशाख २०७५, मंगलवार

विराटनगर । तेश्रो मुलुकबाट सिधै नेपाल सामान आयात गर्न रेल सेवा सुरु भएको छ । नेपालको विराटनगर नाकासम्म ल्याउने कार्गो रेलसेवा शुरु भएको हो । बुधबार कलकत्ताबाट छुटेको कार्गो रेल आइतबार बिहान बथनाहा स्टेसनसम्म आइपुगेको छ । यो सेवा सन्चालन भएसँगै नेपालमा सामान आयात गर्न सहज भएको छ ।

भारतको बथनाहा नेपालको विराटनगर नाकाबाट सात किलोमिटर मात्रै टाढा छ । सीमा नजिकै रेल आएपछि सामान ढुवानीमा ४० प्रतिशत बचत हुने भन्दै नेपाली व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।

आइतबार बिहान बथनाह आइपुगेको रेलमा समुद्रपारीका मुलुकका ५८ कन्टेनर छन् । ति सबै कन्टेनरमा पेप्सीकोला कम्पनीले पाकिस्तानबाट पैठारी गरेको चिनी रहेको बुझिएको छ ।

बथनाहासम्म मालबाहक रेल ढुवानी गर्ने कार्य भारत सरकारको स्वामित्वमा रहेको भारतीय कन्टेनर निगम लिमिटेड कोनकोरले गरेको जोगबनी भन्सारका अधिक्षक आलोक कुमारले जानकारी दिए । आइतबार आइपुगेको रेल पनि कोनकोरले नै ल्याएको आलोकको भनाइ थियो ।

LIVE TV