१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । अरनिको राजमार्गको भक्तपुर खण्ड पलाँसेबाट धुलिखेल जाेड्ने सुरुङमार्ग निर्माणका लागि नेपाल र जापानबी बीचमा सम्झौता एक महिनाभित्रै हुने भएकाे छ ।

यही मे महिनामा सुरुङमार्ग निर्माणका लागि जापान सरकारसँग ऋण सम्झौताकाे तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। उनले एक महिनाभित्रै जापानी टोली ऋण सम्झौताका लागि नेपाल आउने बताए। उनका अनुसार मे अन्तिम साता जापानी टोली नेपाल आउनेछ ।

यही मे महिनामा नेपाल र जापानबीच हुन लागेको द्विपक्षीय बैठकले सुरुङमार्ग र सडक विस्तारसम्बन्धी निर्णय लिने बताइएको छ।  महाशाखा प्रमुख श्रेष्ठले ऋण सम्झौता भएपछि निर्माणको प्रक्रिया अघि बढाइने बताए ।

महाशाखका अनुसार यस खण्डमा सुरुङमार्गसँगै १६ किलोमिटर सडक पनि ८ लेनमा विस्तार हुनेछ । सुरुङमार्ग र सडक विस्तारका लागि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा केही प्रतिशत नेपालको पनि लगानी रहने र मुख्य लगानी  जापानकाे रहनेछ ।

सुरुङ मार्गको सम्भाव्यता अध्ययन भैसकेको छ। गत मार्चमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को टोलीले सुरुङ मार्ग निर्माणका बारेमा एक चरणको छलफल गरेर फर्केकाे थियाे । ऋण सम्झौता भएपछि एक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने जनाइएकाे छ ।

सम्झाैता कार्यान्वनमा अाएमा अागामी तीन वर्षभित्रमा सडक विस्तार र सुरुङमार्ग निर्माण गरिसक्ने लक्ष्य रहेको महाशाखाले जनाएको छ। भक्तपुरको पलाँसेबाट सुरू भर्इ सुरूङमार्ग धुलिखेलसम्म जाेडिनेछ ।

 

LIVE TV