१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसको रिक्त पदाधिकारी चयन गर्ने प्रयासबाट सभापति शेरबहादुर देउवा पछि हटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बहिष्कार गर्नेसम्मको दबाबपछि बैठक २१ वैशाखमा बस्ने गरी स्थगित गरिएको हो ।

सभापति देउवाले सोमबार बिहान निर्वाचित केन्द्रीय सदस्यहरूको मात्रै बैठक डाकेर पार्टीको १३औं महाधिवेशनपछि रिक्त रहेको एक उपसभापति, एक महानमन्त्री र एक सहमहामन्त्री पदमा नाम प्रस्ताव गर्ने तयारी गरेका थिए ।

देउवा निकट केन्द्रीय सदस्य रमेश रिजालले रिक्त पदाधिकारी मनोनयनका लागि प्रस्ताव गर्दा सहमतिबाटै गर्ने सभापति देउवाको प्रयासपछि बैठक केही दिनका लागि स्थगित गरिएको बताए ।

‘सकेसम्म सहमतिबाटै पदाधिकारी चयन गरौं भन्ने सभापति ज्यूको लाइन हो, त्यसैका लागि पनि केही दिन बैठक स्थगित गरेर समाधान खोज्ने भन्ने कुरा भएको हो, सबैको सहमतिबाटै पदाधिकारी प्रस्ताव हुन्छ,’ नेता रिजालले राजधानीसँग भने ।

उनका अनुसार सहमतिको प्रयास गर्दा सहमहामन्त्री भने पौडेल पक्षलाई दिने देउवा पक्षको तयारी छ ।

तर संस्थापन इतरका नेताहरूले भने निर्वाचित केन्द्रीय सदस्यहरूको मात्रै बैठक डाकेर सभापति देउवाले बहुमतको दम्भ देखाउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलले पार्टीकोे विधानको दायरा सबैले पालना गर्नुपर्ने भन्दै निर्वाचनको पराजयपछि पार्टीले संकटको सामना गरिरहेका बेला एकतर्फी रूपमा निर्णय लिन नहुने बताए ।

‘पार्टीको एउटा विधि विधान र प्रक्रिया छ, त्यसको सबैले पालना गर्नुपर्छ,’ पौडेलले राजधानीसँग भने, ‘पार्टीले संकटको सामना गरेका बेला झनै संकट बढाएर पार्टीलाई कमजोर बनाउन हुन्न, नेतृत्वले एकताबद्ध र सौहार्दपूर्ण रूपबाट सबैलाई मिलाएर लैजानुपर्छ ।’

आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक डाकेका थिए । महाधिवेशन भएको दुई महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको छैन । कांग्रेस विधानमा सभापतिले निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने व्यवस्था छ ।

हाल कांग्रेस केन्द्रीय समितिमा निर्वाचित सदस्य ६४ जना छन् । त्यसमा झन्डै ४० जना केन्द्रीय सदस्य आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ ।

सभापति देउवाले सोमबारको बैठकबाट उपसभापतिमा नेता विमलेन्द्र निधिलाई ल्याउने चर्चा थियो । यस्तै महामन्त्रीमा पूर्व सहमहामन्त्रीसमेत रहिसकेका नेता पूर्णबहादुर खड्काको नाम देउवाले रोजाइमा पारेका थिए भने सहमहामन्त्रीमा डा। प्रकाशसरण महतको नाम समावेश भइसकेको देउवा निकट स्रोतले जानकारी दिएको राजधानी दैनिकले लेखेको छ ।

LIVE TV