१८ बैशाख २०७५, मंगलवार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । चेन्नईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो । २१२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो ।

सोमबार राति भएकाे खेलमा दिल्ली डेयरडेभिल्सविरुद्ध कप्तान महेन्द्रसिंह धोनीले दुई चौका र पाँच छक्काको मद्दतमा नटआउट ५१ रन बनाए । उनले मात्र २२ बलकाे सामना गरेका थिए । यससँगै उनी आईपीएलमा हालसम्मकै सर्वाधिक रन बनाउने कप्तान बनेका छन्।

चेन्नई सुपरकिंग्सका कप्तान धोनीले आईपीएलमा ३ हजार ३५६ रन बनाएर नयाँ रेकर्ड राखेका हुन् । यसअघि यो रेकर्ड दिल्ली डेयरडेभिल्सका पूर्वकप्तान गौतम गाम्भिरको नाममा थियो । उनले ३ हजार ५१८ रन बनाएका थिए । हाल गाम्भीर कप्तान रहेका छैनन् । त्यसैले यो रेकर्ड धोनीको नाममा रह्यो ।

खेलमा अम्बाति रायडुले २४ बलमा ४१ र फाप डु प्लेसिसले ३३ बलमा ३३ रन बनाए । सुरेश रैना एक रनमा आउट भए ।
बलिङतर्फ अमित मिश्रा, विजय शंकर र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङ थालेको दिल्लीको भने सुरुआत खराब रह्याे । रिसभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि सुरुआती व्याट्सम्यान चल्न सकेनन् । पृथ्वी शा दशौं बलमा ९ रन मात्र बनाएर आउट भए भने उनकाे सट्टा आएका कप्तान श्रेयस ऐयर र कोलिन मुनरोले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे । तर केएफ आसिफको बललाई सीमा कटाउने चक्करमा लाग्दा मुनरो कर्ण शर्माको हातबाट क्याच आउट भए । कोलिन मुनरोले २६ रन बनाए ।

यसअघि कोलकाता नाइटराइडर्सविरुद्ध दिल्लीलाई जिताउन अहम भूमिका निर्वाह गरेका श्रेयसको बल यसपटक भने चल्न सकेन । दिल्लीको स्कोरकार्ड ६४ रन हुँदा उनी १३ रनमा रन आउट भए । उनको स्थानमा आएका ग्लेन म्याक्सवेल ६ रनमा पेभिलियन फर्किएका थिए ।

LIVE TV