१७ बैशाख २०७५, सोमबार

फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सको उपभोक्ता ठग्ने धन्दा झनै मौलायो, उपभोक्ता ठग्नेहरुमाथि खरो उत्रिएका महानिर्देशकको सरुवापछि काला व्यापारी झनै उत्साहित

काठमाडौं । फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले उपभोक्तासँग अनावश्यक रकम लिएर सवारी बिक्रि गरेको रहस्य सतहमा आएको लामो समय वित्दा समेत कुनै कारवाही भएको छैन । उपभोक्तासँग बढि रकम लिएर खुलेआम ठगी गर्ने जीओमाथि अहिलेसम्म पनि कुनै कारबाही नहुनु रहस्यको बिषय बनेको छ ।

थापाथलीस्थित सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने चारपांग्रे सवारीसाधनमा ग्राहकबाट अस्वाभाविक रकम असुली गरेको पुष्टि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको थियो । गत माघ महिना भएको गाडीको बजार अनुगमनका क्रममा कम्पनीले बेच्ने विभिन्न ब्राण्डका गाडीहरुमा लागतभन्दा बढी मूल्य लिएको पाइएको थियो ।

यसैको आधारमा विभागले कारबाहीका लागि प्रक्रिया अघि बढाएपनि नयाँ सरकार आएसँगै कारबाही प्रक्रिया ओझेलमा परेको देखिएको छ । विभागले अनुगमनपछि कम्पनीलाई कारबाहीका लागि सिफारिस गरेपनि मन्त्रालयले व्यवसायी कारबाहीको सट्टा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएपछि गाडी ब्यवसायीहरु पुनः उपभोक्ता ठग्ने पुरानो धन्दालाई निरन्तरता दिइरहेका छन् ।

जीओ अटोमोबाइल्स कम्पनीले प्रशासनिक खर्च शीर्षकबाट कर्मचारीको तलब, उनीहरूको भत्ता र सुविधा, कार्यालय सञ्चालन खर्च, शोरुम शुल्क, गोदाम भाडा, विज्ञापन खर्च तथा बिक्री प्रवद्र्धन मार्फतको शुल्क जोडेर उपभोक्तामाथि लुट मच्चाइरहेको हो । यसअघि कम्पनीका प्रबन्धक तेजकरण जैनले पटक पटक विभागमा स्पष्टीकरण बुझाए पनि मूल्यवृद्धिको कारण भने पुष्टि भएको थिएन् ।

अनुगमनको क्रममा जिओ अटोमोबाइल्सले २२ लाख ५८ हजार २ सय ९२ रुपैयाँ पर्ने ‘इको स्पोर्ट’ गाडीका लागि उपभोक्ताले ५ लाख ६४ हजार ४ सय १६ रुपैयाँ थप मूल्य तिर्ने तथ्य वाहिर आएको थियो ।

बढी मूल्य तोकेर उपभोक्ताको ढाड सेकेको स्पष्ट हुँदा समेत कारवाही गर्नुको सट्टा महानिर्देशक दाहाललाई सरुवा गरेर सरकारले ठगी धन्दालाई निरन्तरता दिन खोजेकोप्रति उपभोक्ताहरु रुष्ट छन् ।

LIVE TV