१७ बैशाख २०७५, सोमबार

बनेपा : कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राष्ट्रम ठूलाठूला धनराशि भ्रष्टाचार गर्ने र अन्याय गर्नेलाई कानूनअनुसारको दण्ड दिइने बताउनुभएको छ ।

नमोबुद्ध नगरपालिका–११ नमोबुद्धस्थित नमोबुद्ध भगवान् घ्याङ गुठी व्यवस्थापन समितिले आयोजना गरेको दुई हजार ५६२औँ बुद्धजयन्तीका अवसरमा मन्त्री तामाङले भन्नुभयो, “भ्रष्टाचार गर्ने र अन्याय गर्ने मान्छेलाई कानूनअनुसारको दण्ड पाउनुपर्नेमा उन्मुक्ति पाउने र पीडित पक्ष झन् पीडित हुने अवस्था हामीले विगतदेखि भोग्दै आयौँ, अब वर्तमान सरकारले सबै चिजबाट मुक्त गरेर नेपाली समाजका शोषित, पीडित, गरिब जनतालाईसम्मान गर्नेछ ।”

काभ्रेपलाञ्चोक जिल्लालाई धार्मिक पर्यटनका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै अत्यन्तै उर्वर र प्राकृतिक स्रोतले समृद्ध जिल्लालाई प्रदेशको राजधानीका रुपमा विकास गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्र लामाले नमोबुद्धमा आउने पर्यटकका लागि होटल, पार्किङ र अन्य सुविधायुक्त स्थान बनाउन र नमोबुद्धलाई विशेषगरी विश्वसम्पदा सूचीमा पार्नका निम्ति भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नमोबुद्ध गुम्बा परिसरमा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । सो क्रममा महात्मा राजकुमारको अस्तु रहेको नमोबुद्ध गुम्बा परिसरमा लामा गुरुबाट पूजापाठ गर्नाका साथै झक्तजनले पूजा गरेका छन् ।

नमोबुद्धमा अनादिकाल अगाडि पुण्यसम्भार आर्जनका क्रममा बुद्धले भोकले व्याकुल भएकी बघिनीप्रति महाकरुणाले ओतप्रोत भई आफ्नो शरीर नै दान दिएको किंवदन्ती छ । सोही कथनअनुसार नै यहाँ विभिन्न देशबाट र देशभरिका विभिन्न स्थानबाट समेत दर्शन गर्न र मेला भर्न आउने गरेका छन् ।

LIVE TV