१७ बैशाख २०७५, सोमबार

आफुले चाहेको गर्न नसक्दा र नचाहेको निर्णय गर्नु पर्दा सभापति देउवा काँग्रेसभित्र गलेको संकेत, महासमिति वैठक दुबै पक्षका लागि निर्णायक बन्ने

काठमाडौं । सभापति नै सर्वोपरी भन्ने परम्परागत प्रवृत्ति सच्याउन यसपटक कांग्रेसमा लामै कसरत भयो । आफुलाई १३ औं महाधिवेशनमा भर दिनेले नै साथ छोडेपछि सभापति शेरबहादुर देउवाले केही गलेको भान त हुन्छ । तर, आएका निर्णयले भने उनलाई कमजोर देखाएको छैन । पदाधिकारी चयनमा तत्काल विफल भएका देउवालाई केही निर्णयले भने बाँधेको छ ।

निर्वाचनमा भोगेको अकल्पनीय हारको बारेमा समीक्षा गर्ने मुख्य एजेण्डामाथि केन्द्रित हुँदा भारतले लगाएको नाकावन्दी नै हो भन्ने पनि काँग्रेस पछुताउँदै स्वीकार गर्न बाध्य भयो । चौध दिन लामो केन्द्रीय कार्य समितिको वैठकले कांग्रेस हारको मुख्य दोषी बाम गठबन्धनलाई दिदै गर्दा उम्मेद्वारको टिकट किनबेचबाट भएको पनि लोभ नगरी स्वीकार्न पुग्यो ।

वैठकको समापन नै दुई दिन लम्बिदा सभापति देउवाले केही अभिष्ट पूरा गर्ने प्रयास भने नगरेका होइनन । तर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाहरुको स्वर बलियो बन्दा देउवाले थप दबाब बढाउने अवस्था रहेन पनि । सभापति देउवाले संसदीय समिति बिघटन र कार्यसम्पादन समितिलाई बिधान सम्मत बनाउने भनेपछि पौडेलको पक्षबाट उभिएका नेताहरु सहमतिमा आएका थिए ।

वैठकको समापन पछि आयोजित पत्रकार सम्मेलनमा नदेखिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको अवस्था ज्यादै अप्ठेरोमा रहेकोले पार्टी भित्र धेरै विषय सच्याउन बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।

वैठकले संसदीय समतिलाई भंग गरेको छ । त्यसैगरी जिल्ला सभापतिहरुको भेला जेठ अन्तिमसम्म सक्ने र भदौ महिनाभित्र महासमिति वैठक बोलाउने निर्णय गरेको छ ।

यसपटकको बैठकमा सभापति देउवालाई गलाउन सक्नु नै पौडेल पक्षको जितको रुपमा हेर्नेहरु पनि धेरै छन् । तर भाग्यमा समेत बढी विश्वास गर्ने देउवा र उनका पक्षले महासमितिलाई आफ्नो पक्षमा पार्ने प्रयास वैठक टुंगिदा नै सुरु गरिसकेका छन् ।

LIVE TV