१७ बैशाख २०७५, सोमबार
  • विनय तिम्सीना,

इलाम । थ्रीस्टार क्लब ललितपुर इलाममा आयोजित चौथो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सोमबार भएको फाइनलमा चिरप्रतिद्वन्दी मनाङ मस्र्याङदी क्लब काठमाडौंलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जित निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमो तेश्रो मिनेटमा नै थ्रीस्टारका सुनिल बलले गोल गरी टिमलाई उपाधि दिलाए ।

जितसँगै थ्रीस्टारले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र ट्रफि पायो । मनाङले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो । फाइनलको ‘म्यान अफ दी म्याच’ उपविजेता मनाङ मस्र्याङ्दीका हेमन गुरुङ घोषित हुँदै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडि उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यमाहाको स्कूटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माईभ्यालीका मनिस थापा, नेपाल पुलिसका क्लबका रेजिन सुब्बा तथा सशस्त्र प्रहरीको एपिएफका युवराज खड्का र नविन लामा घोषित भए । खेल अवधिभर २/२ गोल गरेका उनीहरुले जनही ७ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ठ गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ठ डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ठ मिडफिल्डर थ्रीस्टारकै सुनिल बल, उत्कृष्ठ फर्वड थ्रीस्टारकै विदेशी खेलाडि मार्टिन र उत्कृष्ठ प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । त्यसैगरी उदयीमान खेलाडि आयोजक माईभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले नगद २० हजार प्राप्त गरे ।

गत ६ वैशाखबाट सुरु भएको प्रतियोगितामा तीन विदेशी सहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टिमको सहभागिता थियो ।
माइभ्याली फुटबलको आयोजनामा प्रतियोगितामा सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।

LIVE TV