१७ बैशाख २०७५, सोमबार

अंगराज न्यौपाने
काठमाडाैँ । वर्षा र सहकालका देवताको रुपमा पूजा गरिन्छ रातो मच्छिन्द्रनाथलाई । करिब १६ सय वर्ष पहिले काठमाण्डौ उपत्यकामा १२ वर्ष सम्म पानी नपरे पछि सुरु भएको अनिकालको अन्त्य गर्न भारतको आसामवाट रातो मच्छिन्द्रनाथलाई नेपाल लाएसंगै उपत्यकामा १२ वर्ष सम्म रहेको खडेरी अन्त्य भएको किम्बदन्ती छ ।

काठमाडाैँ उपत्यकमा कायम रहेका जात्राहरु मध्य सवै भन्दा लामो समय सम्म सञ्चालन हुने जात्राको रुपमा परिचित छ रातो मच्छिन्द्रनाथको रथ जात्रा । वि.सं. ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले संयुक्तरुपमा मान्दै आएका छन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुवात गराएको पौराणिक कथन छ ।

रातो मच्छिन्द्रनाथको रथ जात्रा सुरु भएसंगै पानी पर्न सुरु हुने मान्यता रहेको छ जुन हाल सम्म पनि कायम रहेको छ । अहिलेपनि रथ तान्न थालेपछि उपत्यकामा पानी पर्ने गरेको पुजारी र स्थानीयबासी बताउँछन् ।

वर्ष भरी नै पानी नपरे पनि रातो मच्छिन्द्रनाथ स्नानको समयमा पानी पर्ने गरेको इतिहास नै छ । विश्वास र आस्थासंग जोडिएको यस्ता जात्रा र पर्व नेपालको मौलिक चिनारी र संस्कृति एवं सामाजिक सद्भावको धरोहर समेत बन्दै आएको छ ।

LIVE TV