१७ बैशाख २०७५, सोमबार

काठमाडौं । सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै आज उभौली पर्व मनाईंदैछ । विशेषतः किराँत समुदायले मनाउने यो पर्वमा लोकप्रिय चण्डी नाचको प्रचलन रहेको छ ।

हरेक बैशाख पूर्णिमाका दिन मनाइने उभौंली पर्वमा अन्न बाली सप्रियोस भन्दै प्रकृतिको पूजा गर्ने परम्परा रहेको छ । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ, चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिनका रुपमा मानिन्छ । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ ।

उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

आजको दिन पुरुषले कालो कोट, दौरा र सुरूवाल लगाउने, बुकी फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्दछन् भनेँ महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेंला गरगहना सहित सजिएर नाच्ने चलन छ ।

LIVE TV