१७ बैशाख २०७५, सोमबार

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुभएकाे छ। चालु संसदको दोस्रो अधिवेशन आउँदो आइतबारका लागि आह्वान गरिएकाे हाे।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सरकारले बजेट पनि पेश गर्नेछ। तर संसद नियमावलीको मस्यौदा भने अझै तयार हुन सकेको छैन। तोकिएको समयभित्र नियमावलीको मस्यौदा तयार पार्न असफल संसदको नियमावली मस्यौदा समितिले बजेट अधिवेशन आह्वान हुँदासमेत नियमावलीलाई अन्तिम रुप दिन नसकेकाे हाे ।

दलहरूबीच फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने अथवा नगर्ने, संघीय संसदको समिति कतिवटा राख्ने भन्ने लगायत विषयमा विवाद हल हुन नसक्दा नियमावली मस्याैदा अझै बन्न नसकेकाे स्राेतले जनायाे । सत्तारुढ गठबन्धनले दश वटा अथवा आवश्यकता अनुसार थप हुने गरी समिति राख्ने पक्षमा छ भने कांग्रेसले बढी सात अथवा सोभन्दा कम हुनुपर्ने जनाउँदै आएको छ।  त्यस्तै सत्तारुढ गठबन्धन फौजदारी अभियोगमा थुनामा रहेका सांसदलाई निलम्बन गर्नुपर्ने अडानमा रहेको र कांग्रेस तथा मधेशवादी दलले निलम्बन गर्न नहुने अडान राखेपछि मस्याैदा बनाउन ढिलाइ भएकाे हाे ।

संविधान संशोधनको विषय र राष्ट्रपतिमाथि महाअभियोग एकै पटक दुवै सदनमा राख्ने कि प्रतिनिधिसभामा मात्र राख्ने विषयमा पनि विवाद छ। समितिका सभापति कृष्णभक्त पोखरेलले सहमतिका लागि छलफल जारी रहेको जानकारी दिए। उनले शीर्ष नेताबीच छलफल जारी रहेको जानकारी दिँदै बुधबारसम्म टुंगो लाग्ने बताउनुभयाे ।

LIVE TV