१७ बैशाख २०७५, सोमबार

लहान । शान्तिका दूत गाैतम बुद्धकाे जन्मजयन्ती अर्थात वैशाख पूर्णिमाका दिन काटमार नगर्ने चलन छ। तर, सिराहाको एक मन्दिरमा भने बुद्ध जयन्तीकै दिन पशुबलि दिनेकाे भीड लाग्छ । लहान नगरपालिकास्थित ढोढनामा रहेको राजदेवी पञ्जावती मन्दिरमा अाज पनि बलि चढाउनेको भीड लागेको छ।

राजदेवी पञ्चाबतीको मन्दिर लहान बजारदेखि ७ किलोमिटर उत्तरमा पर्ने ढोढनामा रहेको सानो डाँडामा अवस्थित छ। भाकल गर्दा मनोकामना पुरा हुने जनविश्वासले यस मन्दिरमा बोका, कुखुरा, हाँस, परेवालगायतको बलि चढाउने गरेको स्थानीयहरू बताउँछन् । विगतका वर्षमा भन्दा यस वर्ष बलि चढाउनेको संख्या बढेकाे स्थानीयले बताए ।

हिजै रातिदेखि बलिका लागि बोका लिएर लाइन बसेका थिए । बिहानैदेखि पानी परेकाले भक्तालुहरुलाई समस्या भएको बताइएकाे छ। वैशाख पुर्णिमाको दिन बली दिने चलन नायाँ भने हाेइन, याे सयौं वर्षदेखि चलिआएको छ।

लहान बजारदेखि राजदेवी मन्दिरसम्मको सडकमा अाज बिहानैदेखि भीडभाड भएकाे छ। भीडभाडले चारपाङ्ग्रे गाडीसमेत पुग्न हम्मेहम्मे भएको छ। सडक व्यवस्थानका लागि ठूलो संख्यामा ट्राफिक र सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुरुमा स्थानीयले मात्र पूजापाठ गर्ने र बली चढाउने गरेका थिए तर हाल भारत विहारबाट समेत हजारौं मानिस बली चढाउन यहाँ आउने गरेकाे मन्दिरका पूजारी नै बताउँछन् । राजदेवी माताको पूजापाठ गर्दा मनोकामना पूरा भएपछि कतिपयले बहुमुल्य धातु सुन समेत चढाउने गरेका छन् ।

 

LIVE TV