१७ बैशाख २०७५, सोमबार

धनगढी । प्रदेश ७ का एक मन्त्रीले नियमविपरीत सरकारी आवास सुविधा लिइरहेका छन् । मन्त्रिपरिषदको निर्णय र अर्थमन्त्रालयको परिपत्रलाई लत्याउँदै उनले प्रदेश राजधानीमै घर हुँदाहुँदै पनि सरकारी अावास सुविधा लिइरहेका हुन् ।

प्रदेशको अस्थायी राजधानीबाट १५ किलोमिटर क्षेत्रभित्र घर भएका प्रदेश सरकारका मन्त्रीले सरकारी आवास सुबिधा नपाउने व्यवस्था रहेकाे छ । तर प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीकाे धनगढी– १, शिवनगरमै आफ्नै पक्की घर छ । तर उनी मन्त्री भएपछि क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा सरकारी सुविधा भाेग गर्दै बस्दै आएका छन् । उनको घर मन्त्रालय र तालिम केन्द्रबाट करिब डेढ किलोमिटरको दुरीमा छ । एमालेकाे कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारी कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित भएका हुन् ।

अर्थ मन्त्रालयले प्रदेश राजधानीबाट १५ किलोमिटरभित्र घर भएका मन्त्रीलाई सरकारी आवास सुविधा नदिन प्रदेश सरकारलाई परिपत्र गरेको छ । मुख्यमन्त्री र सभामुखलाई मात्र प्रदेश सरकारले आवास सुविधा उपलब्ध गराउने व्यवस्था छ, मन्त्रीलाई भने छैन ।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले पनि आर्थिक मितव्यीयता अपनाउने निर्णय गरेको थियो । तर, अस्थायी राजधानीमै घर भएका मन्त्री सोडारीले स्वास्थ्य तालिम केन्द्रका दुई वटा बैठक कोठा, चार वटा सुत्ने कोठा र दुई वटा भान्सा कोठा गरी ८ वटा कोठा प्रयोग गरिरहेकाे स्राेतले बतायाे । स्वास्थ्य तालिम केन्द्रमै बस्दै आएका सभामुख अर्जुन थापाले  भने ४ वटा कोठा प्रयोग गरिरहेका छन् ।

LIVE TV