१७ बैशाख २०७५, सोमबार

काठमाडौं । चीनलाई उपहारस्वरूप सरकारले पठाउन लागेका दुई जोडी गैंडामध्ये एउटा केटो (बच्चा) शनिबार समातिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट केटोलाई समाती वातावरणमा घुलमिल गराउन खाल्डो खनेर राखिएको छ । गैंडाको बच्चा राख्ने यस्तो खाल्डोलाई बुमा भनिन्छ ।

निकुञ्चका अधिकारी नुरेन्द्र अर्यालका अनुसार अब दुईवटा गैंडाको खोजी भइरहेको छ । उपहारमा पाएका गैंडा हेर्न चिनियाँ टोली नेपाल आइसकेको छ । निकुञ्ज अधिकारीले भने, याे समाचार अाजकाे राजधानी दैनिकले छापेकाे  छ ।

‘एउटा गैंडा निकुञ्जमा रहेको छ, एउटा समातियो, अब दुई पोथी गैंडा समात्न बाँकी छ ।’ भारत, पाकिस्तान र म्यानमारका केही ठाउँमा मात्र पाइने एकसिंगे गैंडा दुर्लभ जनावरका रूपमा लिने गरिएको छ । नेपाल सरकारले विभिन्न मित्रराष्ट्रलाई दुर्लभ जनावर उपहारमा दिँदै आएको छ ।

चितवन क्षेत्रमा रहेको एकसिंगे गैंडा मारिएका कारणले पनि संख्या कम हुँदै गएको निकुञ्जले बताएको छ । यो गैंडा उपहारका रूपमा समयसमयका सरकारले बाँड्दै आइरहेका छन् ।

चीनलाई चारवटा गैंडा दिएमा अहिलेसम्म २८ गैंडा उपहारका रूपमा बिदेसिनेछन् । ३३ वर्षको अन्तरालमा यतिको संख्यामा उपहारका रूपमा मात्रै एकसिंगे गैंडा बाहिरिने भएका हुन् । भारतलाई सन् १९८५ मा चारवटा, सन् १९८७ मा अमेरिकालाई ६, सन् १९९० मा जर्मनीको चिडियाखानाका लागि एउटा भाले र सन् १९९३ मा एउटा पोथी गरी दुई गैंडा पठाइएको थियो । सन् १९९० मै सिंगापुर सरकारलाई एक जोडी वयस्क गैंडा उपहार पठाइएको थियो भने बेलायतलाई भने सन् १९९८ मा एक जोडी गैंडा उपहार दिइएको थियो ।

सन् १९९३ मा बंगलादेशलाई एक जोडी, सन् २००२ मा जापानलाई एक जोडी र अस्ट्रियालाई अर्को एक जोडी गैंडा सरकारले उपहारस्वरूप पठाएको थियो । यसैगरी, पाकिस्तानलाई २, बर्मालाई २ र थाइल्यान्डलाई दुई गैंडा पठाइसकिएको छ ।

विभिन्न राजनीतिक घटनाक्रमका कारण रोकिएको ‘गैंडा कूटनीति’ चीनलाई उपहार दिने निर्णयसँगै सुरु भएको हो । २६ असार २०७३ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेलामा यो निर्णय गरिएको थियो । चीनले गैंडा माग गरेपछि तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट यो निर्णय गरिएको थियो ।

LIVE TV