१७ बैशाख २०७५, सोमबार

काठमाडौं । रेल मार्ग सञ्चालन गर्ने छलफलका लागि सरकारी उच्च टोली शनिबार चीन पुगेको छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका विषयमा चीन सरकारसँग छलफल गर्न सात सदस्यीय नेपाली टोली चीन पुगेको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा नेपाली टोली चीन पुगेको हो ।

सो टोलीमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्राविधिक एंव रेल विभागका कर्मचारी सहभागी छन् । चीनबाट रेल ल्याउने प्रयास भइरहेकाले सो विषयमा पुनः छलफल गर्न नेपाली टोली चीन गएको सरकारले जनाएको छ । याे समाचार अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।

सञ्चार तथा सूचना राज्यमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले भने, ‘सरकार जसरी भए पनि रेल ल्याउन चाहान्छ ।’ सोही कामलाई मूर्त रूप दिन पुनः छलफल गर्न नेपाली टोलीलाई चीन पठाइएको प्रवक्ता बास्कोटाले बताए । चीन भ्रमणका क्रममा विभिन्न समयमा सरकारी अधिकारीले रेल मार्ग निमार्णका विषयमा छलफल गर्दै आएका छन् । तर अहिलेसम्म रेल आउने पक्का भने भएको छैन । हालै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको चीन भ्रमणमा पनि रेलमार्ग निर्माणबारे छलफल भएको थियो ।

LIVE TV