१७ बैशाख २०७५, सोमबार
  • एजेन्सी

क्यारेबियाली क्षेत्रका आप्रवासीहरूलाई बेलायती सरकारले गरेको व्यवहारलाई लिएर आलोचना बढिरहेको बेलायतकी गृहमन्त्री एम्बर रडले आफ्नो पदबाट राजीनामा दिएकी छन्। रडले बेलायतबाट बाहिर निकाल्नुपर्ने क्यारेबियाली क्षेत्रका आप्रवासीको सीमाबारे आफूले भूलवश सांसदहरूलाई सही जानकारी  दिन नसकिएकाे बताएकी छन्।

उनको राजीनामाले टरिजा मे सरकारलाई धक्का पुग्न सक्ने बताइएको छ। गृहमन्त्री रडले के–कति संख्यामा क्यारेबियाली क्षेत्रका आप्रवासीहरूलाई बेलायतबाट बाहिर निकाल्ने भन्ने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी थिइन्। तर चुहिएका दस्तावेजहरूअनुसार बेलायतबाट फिर्ता पठाउनुपर्ने आप्रवासीहरूको सीमा उनी आफैँले निर्धारण गरेकी थिइन्।

गृह मन्त्रालयका अधिकारीहरूले बेलायतमा दशकौँदेखि बसोबास गर्दै आएका क्यारेबियाली क्षेत्रका थुप्रै आप्रवासीहरूलाई देशनिकाला गर्ने चेतावनी दिँदै आएका थिए। तिनलाई ब्रिटेनबाट बाहिर निकाल्ने विषयमा मन्त्री रडले कुनै निर्णय लिन सकेकी थिइनन्। पूर्वऊर्जामन्त्री रहेकी एम्बर रडले आफ्नो २१ महिने कार्यकालमा कुनै पनि महत्त्वपूर्ण निर्णय गर्न नसकेको भन्दै आलोचना भएको थियो।

एम्बर रड प्रधानमन्त्री मेको उत्तराधिकारी हुन सक्ने आकलन गरिएको थियो। तर अहिले उनको राजीनामाले प्रधानमन्त्री मेलाई मन्त्रिपरिषद्‌मा आफ्नो पक्षमा राजनीतिक सन्तुलन कायम गर्न कठिन हुन सक्ने ठानिएको छ। (बिबिसी)

LIVE TV