१७ बैशाख २०७५, सोमबार

काठमाडौं । आज उभौली अर्थात प्रकृतिपूजक किराँत धर्मवालम्वीहरुको एक प्रसिद्ध पर्व हो । किराँतहरूले यस अवसरमा प्रकृतिको पुजा गर्दछन । किराँती मुन्धु अनुसार पृथ्वीमा कृषि युग सुरु भएदेखि यो प्रचलनमा आएको विश्वास छ । यो पर्वलाई ऋतु परिवर्तनको संकेत दिने पर्वको प्रतिकको रुपमा पनि लिईन्छ । वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ ।

प्रकृतिको आराधना गरिन्छ नाचद्वारा । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । त्यसैले यो पर्व सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।

उभौली पर्व मौसमसँग सम्बन्धित छ । दिन लामो हुन थालेपछि अर्थात् गर्मी महिनाको सुरुआतसँगै चिसो भूभागतर्फ उकालो लाग्ने गोठाले युगको सम्झना पनि गराउँछ यो पर्वले । अन्नबाली सप्रियोस्, बालीनाली राम्रो लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्न कमी नहोस्, सबैमा सुख–शान्ति–सुस्वास्थ्य रहोस्, दैवीप्रकोप तथा विपत्तिहरू नआऊन् भन्ने शुभ भाव लुकेको हुन्छ यो पर्वमा । वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाइन्छ ।

किराँती समुदायले मनाउने उभौली र उधौली पर्व कृषि तथा पशुपालनसँग सम्बन्धित छन् । आज वैशाख शुक्ल पूर्णिमा उभौली हो भने मंसिर शुक्ल पूर्णिमा उधौली हो । उभौलीमा लगाइएको बाली उधौलीमा भित्र्याइन्छ । सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गर्छन् भन्ने विश्वास छ । त्यसैले उभौली सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । आजको दिन बालिनालीका रक्षक तत्वहरू प्रकृति, हावापानी, देवीदेवता र पृथ्वीको पूजा गरिन्छ ।

यसरी मनाईन्छ यो पर्व

प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किराँत धर्मवालम्वीले भव्य रूपमा किराँत  रीतिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ ।

उभौलीमा आफ्नो जातीय पहिरनमा साकेला सिली नाच्छन् । कालो कोट, दौरा, सुरुवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई ईशारा गर्दै नाच्छन् । हातमा चौंरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातिका युवायुवतीको सहभागिता बढ्दो छ ।

केही वर्षदेखि काठमाडौको टुँडिखेलमा उभौलीको रौनक हेर्नलायक देखिन्छ, पारम्परिक वेशभुषामा सजिएका किराती समुदायका व्यक्तिहरू गोलबन्द भएर खुला आकाशमुनि संयुक्त रूपमा पुरुषमहिला सँगै नाचेकोे दृश्य अत्यन्त रमाइलो हुन्छ ।

बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ । हातखुट्टाको चाल तथा हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीवजनावरको नक्कल गरी ढोलझ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला हो । साकेला नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । बिशेष गरी किराँती अन्तर्गत लिम्बु, राई, सुनुवार, याख्खा, दनुवार र हायु लगायत जातीले यो पर्व बिशेष महत्वकासाथ मनाउँदछन् ।

LIVE TV