१७ बैशाख २०७५, सोमबार

काठमाडौं । साढे ३३ किलाे सुन तस्करीकाे रहस्य झनपछि झन जटिल बन्दै गएकाे छ । सरकारले तस्करीमा मुछिएका व्यक्तिकाे छानबिन  गर्न गठन गरेको समितिले आइतबारसम्म २८ जनालाई नियन्त्रणमा लिएकाे छ, जसमा ६ जना प्रहरी अधिकारी समेत रहेका छन् । समितिले नियन्त्रणमा लिइएका उनीहरूविरूद्ध कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा चलाएको छ ।

सुन तस्करीका डन मानिने ‘गोरे’ उर्फ चुडामणि उप्रेतीका सहयोगी सनम शाक्यको हत्याबाट सुरु भएको साढे ३३ केजी सुन प्रकरणकाे गाँठाे अझै फुक्न नसके पनि पक्राउ परेकाहरूकाे अनुसन्धानबाट धेरै तथ्य खुलिसकेकाे समितिले जनाएकाे छ । यस काण्डमा उच्च प्रहरी अधिकारीहरू नै पक्राउ पर्न थालेपछि  प्रश्नहरु थप जटि भएका छन् । आइतबारमात्रै अपराध महाशाखाकाे अनुसन्धान टोलीका नेतृत्वकर्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रजित केसी पक्राउ परेका छन् ।

यसअघि पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्कालार्इ नियन्त्रणमा लिइसकिएकाे छ ।

नियन्त्रणमा लिइएका थप व्यक्ति

‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर र राजु महर्जन छन् ।

त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरेलगायत व्यक्ति नियन्त्रणमा लिइएका छन् ।

सम्पत्ति राेक्का

साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरिसकेकाे छ । उनकाे सम्पत्ति समेत राेक्का गरिएकाे छ ।

गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायतको सम्पत्ति समेत रोक्का गरिएकाे छ ।

एसएसपी खत्री फरार

अनुसन्धानमा तानिएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री फरार रहेका छन् । अनुसन्धान समितिले उनलार्इ बाेलाएका भए पनि अहिलेसम्म समितिको सम्पर्कमा नअाएकाे स्राेतले बतायाे । खत्री तिनै प्रहरी अधिकारी हुन्, जो २३ माघ ०७३ मा दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए ।

माेबाइल फाेन समेत अफ गरेर सम्पर्कविहीन भएका एसएसपी खत्रीलार्इ फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएकाे छ ।

कहाँ छ बरामद गरिएकाे सुन ?

गत साल माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन बरामद गरिएकाे थियाे । तर, अहिलेसम्म बरामद भएको भनिएको साढे ३३ केजी सुन कहाँ छ भन्ने अत्तोपत्तो छैन । सम्बन्धित व्यक्तिसम्म नपुगी सुन गायब भएको गाइगुइ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । घटना झन रहस्यमय हुन थालेपछि अनुसन्धान गर्न गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको छ भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति पनि बनाएको थियो ।

 

LIVE TV