१६ बैशाख २०७५, आईतवार

आकाश पनि भारतीय अतिक्रमण, बोले प्रधानमन्त्री नै

नेपालको जमिनमा मात्रै होइन आकाश पनि भारतीय अतिक्रमणबाट मुक्त छैन । नेपाल आउने जहाजका लागि थप रुट दिन भारतले लामो समयदेखि आनाकानी गर्दै आएको छ । नेपालले चाहेको रुटबाट जहाजहरू नेपाल आउँन अनुमति नदिँदा नेपाली आकाशमै लामो समय विमान होल्ड गरी राख्नु पर्ने अवस्था छ भने कतिपय अवस्था भारतको कलकत्ता एयरपोर्ट लगेर ल्याण्ड गर्नुपर्ने अवस्था छ ।

नेपाल र भारतबिच ०६६ मा वार्ता भएदेखि नै नेपालले थप हवाई रुटको माग गर्दै आउँको छ । यदि नेपालले भने जस्तो हवाई रुट खुल्न सकेमा खाडी मुलुकबाट नेपालमा हुने उडानको दुरी छोटिने छ, भने भैरहवा र पोखराको विमानस्थलमा समेत दिल्लीबाट हुने उडान समय छोटिनेछ । सात वर्षपछि हुन वार्ताका भए पनि यसबारे अझै ठोस निकर्ष निस्किएको छैन ।

भिडियाे हेर्नुहाेस्

अहिले नेपाल आउने जहाजका लागि भारतले सिमरा रुटमा मात्र अनुमति दिँदै आएको छ । नेपालले अहिलेको नेपालगन्ज, जनकपुर र नेपालगन्ज महेन्द्रनगर रुट खोल्नका लागि प्रस्ताव गरेको छ । यसका लागि सन् २०१६ को डिसेम्बरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वका वार्ता गर्न एक टोली भारत गएको थियो । वार्तामा भारतले सैद्धान्तिक रूपमा ती रुटहरू दिने जस्तो सहमति गरेको भए पनि अहिलेसम्म व्यवहारमा भने लागू हुन सकेको छैन ।

निर्माणाधिन गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पर्ने प्रदेश नम्बर ५ को संसद् बैठकलाई वुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आकाशको अधिकार लिने र विमानहरू चलाउन समस्या परेको बताए । भारतले अहिलेसम्म जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टी जाहेर गरेका हुन् । ‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’

प्रधानमन्त्री ओलीको यो भनाइले पनि स्पष्ट पार्छ कि भारतले नेपाललाई हवाई रुट दिन आनाकानी गर्दैछ । नेपाल भारतबिच एयर स्पेस एग्रिमेन्ट (एएसए) सम्झौता नभए नेपालमा बन्दै गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान अवतरणको गर्न नपाउने निश्चित छ । भारत अन्ततः थप तीन रुट खोल्नका लागि अनुमति दिने सैद्धान्तिक सहमति २०१६ को डिसेम्बरकै वार्तामा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व निकम्मा बन्दा सहमति कार्यान्वयन हुन नसकेको कतिपयको भनाई छ । जसलाई प्रधानमन्त्रीले सार्वजनिक रूपमै असन्तुष्टी जाहेर गर्नुपरेको छ ।

सन् २०१६ को डिसेम्बरमा भएको वार्तामा भारतले सैद्धान्तिक सहमति गरेर पनि व्यहारिक रूपमा कार्यान्वयनका लागि प्राधिकरणले सेफ्टी एसिसमेन्ट गर्नु पर्ने थियो तर प्राधिकरणको नेतृत्व गरिरहेका महानिर्देशक सन्जीव गौतमले भारतीय पक्षसँग समन्वय गरेर सेफ्टी एसिसमेन्ट नगरेको कारण पनि हवाई सम्झौता व्यवहारिक रूपले कार्यान्वयन हुन सकेको छैन ।

त्यसो त आकाश सुरक्षााका लागि नेपाली प्रशासन पनि गम्भीर देखिएको छैन । नेपालको सिमावर्ती क्षेत्रमा जासुसी गर्न जुन कुनै हेलिकप्टर वा जहाजहरू पनि आउन सक्छन् । तर नेपाली पक्षलाई नेपालको भूभागमा कसले जासुसी गरिरहेको छ त्यसबारे केही जानकारी हुँदैन । नेपाली आकाशमा भारतीय जासुसी विमानहरू बिना अनुमति नेपाल छिर्ने गरेको उदाहरणहरू प्रशस्त छन् । तर नेपाली प्रशासनलाई नेपालको आकाशमा के कस्ता गतिविधि भइरहेका हुन्छन् त्यसको बारे केही जानकारी हुँदैन । हवाई क्षेत्रको नियमन गर्नु पर्ने निकाय नागरिक उड्डयन प्राधिकरणको नेतृत्वले तदारुकता देखाउँन नसक्दा प्रधानमन्त्री स्वयम् असन्तुष्टी पोख्नु पर्ने अवस्था आएको छ ।

जमिनमा सधैँको हस्तक्षेप, पुर्नवासमा फेरि भारतीय ताडव

नेपाल भारत सिमानामा नेपाली जमिनमा भारतले निरन्तर हस्तक्षेप गर्दै आइरहेको छ । अहिले पनि भारतको हस्तक्षेप जारी नै छ । यही क्रममा कञ्चनपुरको पुनर्वासमा फेरि भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको छ । पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तरबार लगाउन खोजेका थिए । तर, नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तरबार भारतीय पक्षले निकालेर फालिदिएको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट सयौँको सङ्ख्यामा आएका सुरक्षाकर्मीले नेपाली पक्षले लगाएको तरबार निकालेर फालेको हो । पुनर्वास नगरपालिका–९ बीचफाँटामा स्थानीयले आठ–आठ हजार रुपैयाँ उठाएर नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तरबार लगाउन थालेका थिए । २९ सय मिटरसम्म तरबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन खोज्दा एसएसबीले एक्कासि अवरोध गरेको हो ।

उता, जिल्ला प्रशासन कार्यालयले एसएसबीले माफी मागेको र स्थानीयस्तरमा दुवैपक्षबीच विवाद अगाडि बढ्न नदिने तथा सर्भे टोलीले काम सुरु नगर्दासम्म तरबार पनि लगाउने सहमति भएको जनाएको छ । कैलालीमा सर्भे गरिरहेको टोलीले कञ्चनपुरमा समेत तत्काल काम थाल्ने स्थानीय प्रशासनको भनाइ छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले अन्नबाली नष्ट गर्छ । छ । हात्तीको आक्रमणबाट यो क्षेत्रमा अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् ।

पुनर्वास क्षेत्रमा पर्ने प्याराताल आफ्नो भूमिमा पर्ने भन्दै भारतले लामो समयदेखि कब्जा गरेको छ । सीमा क्षेत्रका अधिकांश खेतीयोग्य जमिनसमेत भारतीयले उपभोग गरिरहेका छन् । २०७३ फागुनमा पुनर्वास– ८ मा कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतम मारिएका थिए । सो घटनापछि पनि सीमावर्ती क्षेत्रमा भारतीय पक्षको ज्यादती नघटेको तथ्य तारवार प्रकरणले पुष्टि गरेको छ ।

कहिलेसम्म सहने यो अत्याचार, बोल्ने को ?

बषौँदेखि भारतको हेपाहा र मिचाहा प्रवृत्तिबाट प्रताडित छ नेपाल । यो सत्य हो । सिमानामा भारतीय सुरक्षा बलको दमनकारी प्रवृत्ति उस्तै छ ।
२०७३ फागुनमा कञ्चनपुरको पुनर्वास ८ मा कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतम मारिए । सो घटनापछि पनि सीमावर्ती क्षेत्रमा भारतीय पक्षको ज्यादती घटेन । त्यसपछि पनि बारम्बार सीमामा भारतीय पक्षको दमन चलिरह्यो ।

हालै सोही भूभागमा नेपाली पक्षले आफ्नो भूमितर्फ तारवार लगाउन खोज्दा भारतीय पक्षले बल प्रयोग गरी सो तरबार हटाएको छ । यो अत्यारको अर्को श्रृङ्खला हो । छिमेकी मुलुक भनेर परिचित भारतले नेपाल र नेपालीमाथि धेरै अत्याचार र दमन गरेको छ । तर देशको सरकार लाचार भइदिँदा चुपचाप सहन बाध्य छन् नेपाली । हुँदा हुँदा सिमानामा मात्रै होइन आकाशमा पनि भारत यस्तै अत्याचार गर्न चाहिरहेको देखिन्छ भने नेपाली अधिकारीहरू मौन समर्थन गरेर बसिरहेको जस्तो अवस्था छ ।

नेपाल भारत बिचको सीमा विवादले वषौँदेखि पीडित छन् नागरिक । हरेक पटक भारतले नेपाललाई सिमानाको विषयमा थिचोमीचिो गर्दै आएको छ । नेपालीहरूले सीमाको विषयमा आवाज उठाउँदा भारतीय पक्षले नेपालीहरूमाथि बल समेत प्रयोग गरेको दुखद उदाहरणहरू छन् । तर अहिलेसम्म सिमानाको विषय विवादित र अन्योल छ । सीमाङ्कनका लागि पिल्लर गाडिएका छन् । तर ती पिल्लर निश्चित सीमामा छैनन् । धेरै स्थानका सीमा ढालिएको छ भने कति हराइसकेका छन् । यही विषयमा जनताले बारम्बार गुहार्नुपरेको छ आफ्नै देशलाई, तर देश सुन्दैन । आफ्नो देशको भूगोल बचाउन नागरिक सीमामा लड्नुपर्ने मर्नुपर्र्नेे, यो कस्तो विडम्बना ।

भारतको ज्यादती र मनोमानी यतिमा मात्र सीमित रहेन । भारतले जमिनमा मात्र होइन आकाशमा पनि सोही प्रवृत्ति देखाएको छ । भारतले आफ्नो आकाशको इजाजत दिन चाहँदैन नेपाललाई । र यो कुनै पनि विषयमा देशका नेतृत्व बोल्दै बोल्दैनन् । बोल्छन् त केवल भाषणमा मात्र । हालसम्म यो देशमा जोजो प्रधानमन्त्री भए सबै भारत भ्रमण गर्छन् , आपसी सम्बन्ध र सद्भाव कायम रहेको दाबी गर्छन् । तर भारतको हेपाहा प्रवृत्ति र मनोमानीबारे कोही बोल्दैनन् । या बोल्न चाहँदैनन् ।

पछिल्लो पटक भारत भ्रमण गरेर फर्केका ओलीले विमानस्थलमा यस्तै प्रगति सुनाए । कि सहयोग सद्भाव र सम्बन्ध बलियो भयो भारतसँग । तर ओलीले अहिले दुखेसो गरेका छन् कि भारतले आकाश पनि कञ्जुस्याइँ ग¥यो भनेर । ओलीले दुखेसो गरेका छन् । तर त्यो दुखेसो बोलीमा, भाषणमा होइन भारतसँगको सम्बन्धमा राख्न सक्नुपर्छ । हुन त राष्ट्रियताका लागि यसअघि भारत विरुद्ध बोलेका ओली पनि प्रधानमन्त्री भएपछि फेरिएको आभास जानकार स्वयम्ले गर्न थालेका छन् ।

कतिपयको भनाई मा ओलीले भारत भ्रमणमा रहँदा नेपालले भारतबाट सहनुपरेको हेपाहा प्रवृत्ति, सीमा विवाद जस्ता जरुल्दोबल्दो समस्यामा सशक्त ढङ्गले कुरा राखेनन् । यस्तै कारण हामीले बारम्बार भारतको मनोमानी चुपचाप सहनुपर्ने बाध्यता छ । बोल्ने कोही छैन । बारम्बार प्रश्न गर्छन्, नागरिक हाम्रो राष्ट्रियता खोइ ? हाम्रो स्वाभिमान खोइ ? तर यस विषयमा देश चक्कु सम्म बोल्न नसकि भारतसँग निरिहता प्रस्तुत गरिरहेको छ । न जनताको पीडामा सान्त्वना छ, न त पुर्खाले आर्जन गरिदिएको भूगोलको नै पर्बाह छ ।

के छिमेकीको नाममा भएका सबै अत्याचार सह्यै छन् ? बोल्नुपर्दैन देश ? राष्ट्र, राष्ट्रियता र स्वाभिमान भनेर गर्विलो छाती बनाउनका लागि देश बलियो हुन जरुरी छ । असल छिमेकीका नाममा दुष्ट प्रवृत्तिको खेती नेपालीका लागि सह्ैय हुन सक्दैन । यसर्थ यी विषयमा सरकार गम्भीर बन्नैपर्छ । यही वैशाख २८ गते आफ्नो कार्यकालको तेस्रो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले यी विषयहरू द्धिपक्षीय वार्तामा राखेर समाधान गर्न जरुरी छ।

LIVE TV