१६ बैशाख २०७५, आईतवार
  • दानबहादुर बुढा

मुगु । मुगुका किसानलाई जौ,गँहु टिप्ने चटारो छ यतिखेर । मुगु जिल्लामा सबै भन्दा बढी लगाईने अन्न बाली भएकाले यसको उत्पादन समेत अन्यको तुलनामा बढी हुने गर्छ । यो बाली पाकेको समयमा दृश्यावलोकनका लागि पनि आनन्ददायक मानिन्छ ।

 

मुगुको दर्जन बढी बस्तीमा लगाइएको बाली भित्र्याउन किसानलाई भ्याई नभ्याई छ यतिखेर । कामको चटारोेले गाउँ घरमा स्थानीयहरु कम भेटिने गर्छन् । बिगतका बर्षहरुमा खडेरीको समस्याले पिरोल्ने गर्दथ्यो । यस बर्ष समयमा नै आकासे पानी परेकोले उत्पादन बढेको छ । जौ, गहुँ , फापर , कादो , कागुनो ,चिनो, स्थानीय रैथाने बाली हो । पछिल्लो समयमा खाद्य संस्थानको चामल प्रयोग गर्ने संख्या बढेपनि आफुले नियमित परम्परागत खेतीलाई निरन्तरता भने दिएको छाँयानाथ रारा नगरपालिका ५ कार्कीबाडाकी जयपुरा कामीको भनाई छ ।

गत वर्ष मुगु जिल्लाको कृषि योग्य जमिन १८ हजार ४ सय २१ हेक्टर मध्ये जौँ ११ सय ४० हेक्टरमा लगाउँदा ३ सय ८० मेट्रिक टन उत्पादन भएको थियो भने गहुँ उत्पादन क्षेत्र १६ सय ५० हेक्टरमा १ हजार १७ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने आकाशे पानी समय मै परेकोले पनि उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

जौ गहुँको यही उत्पादनले मुगुवासीलाई २ देखि ३ महिना सम्म आत्मनिर्भर बनाउँछ भने कार्तिक महिनामा उत्पादित अन्न बाली कोदो मकै धान,सिमीले ४ देखि ५ महिना सम्म धान्ने गरेको छ । बाँकी महिनाकालागि भने मुगुवासी नेपाल सरकारले उपलब्ध गराउने अनुदानको चामलमा भरपर्नु पर्ने बाध्यता विद्यमान छ ।

LIVE TV