१६ बैशाख २०७५, आईतवार

काठमाडौँ। सरकारले चुरोट तथा सुर्तीजन्य पदार्थको कर ७० प्रतिशत पुर्‍याउने भएको छ । स्वथ्य तथा जनसङ्ख्या मन्त्रालयले चुरोट तथा सुर्तीजन्य पदार्थमा २८ प्रतिशत भएको कर भारी मात्रामा वृद्धि गर्दै ७० प्रतिशत पुर्‍याउन लागेको हो ।

मन्त्रालयले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा लैजाने तयारी गरेको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी दिएकी छन् । धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा कमी ल्याउन यसमा लगाइने कर भारी मात्रामा वृद्धि गर्न खोजिएको राज्यमन्त्री अर्यालले बताइन् ।

पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमालेका प्रमुख सचेतक खगराज अधिकारीले सुर्तीजन्य पदार्थमा कर बढाउने विषयमा पार्टीभित्र र सरकारमा पनि आफूले पहल गर्ने बताएका छन् । ‘विश्व स्वास्थ्य सङ्गठनले तोके अनुसार अब सुर्तीजन्य पदार्थमा ७० प्रतिशतभन्दा बढी कर लगाउनु पर्छ’, उनले भने, ‘कर बढाउने विषयमा सरकार र पार्टीमा म पनि आवाज उठाउँछु ।’

‘दक्षिण एसियाभरिमै नेपालमा सुर्तीजन्य पदार्थको कर निकै कम छ’, उनले अर्यालले भभिन्, ‘जनस्वास्थ्यमा गम्भीर असर गर्ने सुर्तीजन्य पदार्थमा कर बढाउने विषयमा अर्थमन्त्रीसँग पनि छलफल गरेर अगाडि बढ्ने छौँ ।’ कर बढाउने, सुर्तीजन्य पदार्थको नियन्त्रण र यससम्बन्धी कानुनको नियमनका लागि आफ्नो सहयोग रहने कुरामा सांसदहरू लेखराज भट्ट, लालबहादुर थापा, रामकुमारी झाँक्री, वृजेशकुमार लाल, प्रकाश स्नेही, अञ्जना विशंखे लगायतले प्रतिबद्धता जनाएका छन् ।

LIVE TV